कोरोनाका जति भेरिएन्ट देखिए पनि जोगिने उपाय भनेको 'लक-इन' नै हो

हिमाल खबर

काठमाडौं

कोभिड–१९को दोस्रो लहर, कोरोनाभाइरसको स्वभाव, यसको नयाँ भेरिएन्ट र सुरक्षाका उपायबारे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलोजी विभागकी पूर्वप्रमुख प्रा.डा. बसुधा खनालसँगको अन्तर्वार्ता।

 

कोरोना भाइरस ‘म्युटेट’ भएर भाइरसको नयाँ भेरिएन्ट बनेको र त्यसैले अहिलेको संक्रमणमा बढी क्षति भइरहेको भनिँदै छ। भाइरस म्युटेट र भेरिएन्ट कसरी हुन्छ? 

प्रा.डा.बसुधा खनाल: म्युटेसन वा उत्परिवर्तन आनुवंशिक चरित्र बोक्ने जीनको अनुक्रम (सिक्वेन्स)मा हुने फेरबदल हो। रिबोन्युक्लिक एसिड (आरएनए) भाइरसमा सामान्यतया उत्परिवर्तनको  दर बढी हुन्छ। सार्स कोभ–२ पनि आरएनए भाइरस हो। त्यसैले यसमा पनि उत्परिवर्तन भइरहेका छन्। जीनमा हुने एकभन्दा बढी उत्परिवर्तनले भाइरसको चरित्रमा केही भिन्नता (भेरिएसन) ल्याउँछ। चरित्र परिवर्तन भएको त्यही भाइरसलाई  पहिलेको भाइरसको भेरिएन्ट भनिन्छ।

म्युटेसन नियमित जैविक प्रक्रिया हो। तीव्र गतिमा म्युटेसन हुने सम्भावना भाइरसको तीव्र फैलावटसँगै बढेर जान्छ। यसको साथै भाइरसविरुद्धका औषधिहरू, जनस्वास्थ्यका उपायहरूको प्रभाव, भाइरसविरुद्ध विकसित भएको प्रतिरक्षाको असरले आफ्नो बचावटका लागि यो भाइरसले चरित्र बदल्न जेनेटिक भेरिएसनका तरिका उपयोग गर्छ। भाइरसको म्युटेसन दर जति बढ्छ त्यति नै भेरिएन्ट देखापर्छन्। परिवर्तित स्वरूपका केही भेरिएन्ट जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने किसिमका पनि छन्।

भाइरस म्युटेट भइरहने, नयाँ भेरिएन्ट बनाइरहने हो भने त यो महामारीको अन्त्य कहिल्यै नहुने हो त?  

अरू संक्रामक रोग जस्तै कोभिड–१९ पनि भाइरस र मानव जातिबीचको युद्ध हो। बढ्दो संक्रमणसँगै भाइरस जति फैलिरहन्छ त्यति नै म्युटेसन भएर नयाँ भेरिएन्ट बनाउने क्रम पनि भइरहन्छ।

तर, समय र अवस्था अनुसार भेरिएन्ट सधैं शक्तिशाली रूपमा नरहन पनि सक्छ। भाइरसले फैलने मौका पाएन भने यो कमजोर भएर जान्छ। जनस्वास्थ्यका नियमहरू पालन गरिए र धेरै जनसंख्यामा भाइरसविरुद्ध प्रतिरक्षा विकास भएजस्तै खोपको प्रभावले भाइरस फैलन पाउँदैन। 
 

प्रकाशित मिति: : 2021-05-09 05:50:00

प्रतिकृया दिनुहोस्