वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीविरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट खटिनुपर्ने बताए।
उनले भने, 'कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन्, हामीले कोरोना नियन्त्रण तथा रोकथाम गर्नमा जे जस्तो सक्छौँ, तत्काल जनशक्ति त्यसैमा लगाउनुस्, बाँकी काम गर्दै गरौँला।'
मन्त्री आलेले कोरोना रोकथाम र नियन्त्रणमा वन मन्त्रालयमातहतका सबै साधन स्रोतको परिचालन गर्न समेत निर्देशन दिएका छन्।
कोरोना सङ्क्रमणले नागरिकको मृत्युपश्चात जलाउनका लागि पशुपति क्षेत्रमा दिनहुँ ठूलो सङ्ख्यामा शवहरु आइरहेकाले जलाउनका लागि दाउराको कमी हुन नदिन उनले निर्देशन दिए।
सबै कर्मचारीले आफ्नो क्षेत्रबाट एक ढिक्का भएर नागरिकलाई सेवा दिन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विकासका काम गर्न मन्त्री आलेले निर्देशन दिए।
निर्देशनकै क्रममा मन्त्री आलेले महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन आग्रह गरे। रासस