मुख्यमन्त्रीको दैलोअगाडि अक्सिजन अभावमा छट्पटिँदै संक्रमित

पटक–पटक अक्सिजन प्लान्ट निर्माणको प्रस्ताव गर्दा मुख्यमन्त्रीको बेवास्ता

रातोपाटी

मकवानपुर

कोरोना संक्रमितको उपचारमा सक्रिय रहेको मकवानपुरको हेटौँडा अस्पतालमा अक्सिजन अभाव भएको छ। पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप बढेसँगै संक्रमितहरुको उपचारमा प्रयोग हुँदै आएको अक्सिजन अभाव भएको हेटौँडा अस्पतालले जनाएको छ।

अस्पतालमा अन्य जिल्लाबाट अक्सिजन आपूर्ति हुँदै आएको थियो। अस्पतालले २ सय ७३ वटा अक्सिजन सिलिन्डरलाई आलोपालो गर्दै हालसम्म संक्रमितहरुको उपचारमा प्रयोग गर्दै आएको थियो।

अस्पतालमा एकदिनमा करिब २ सय ५० वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्ले बताउँछन्। जिल्लामा अक्सिजन प्लान्ट नहुँदा र अन्य जिल्लामा भर पर्नुपर्ने अवस्थाका कारण अस्पतालमा अक्सिजन अभाव भएको हो।

अस्पतालले ५१ वेड क्षमताको भेन्टिलेटरसहितको आईसीयू, एचडीयू र स्टेप डाउन कक्ष सञ्चालनमा ल्याएको छ। संचालनमा रहेका भेन्टिलेटर, आईसीयू, एचडीयूका सबै वेड संक्रमित विरामीले भरिएका छन्।

हेटौँडा अस्पताललाई विरामीको चाप थेग्न समस्या हुन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पताललाई समेत कोरोना अस्पतालको रुपमा प्रयोग गर्दै आएको थियो। कुल ३० वेड क्षमताको दुबै अस्पतालमा पनि अक्सिजन अभावका कारण शुक्रबारबाट उपचार सेवा बन्द भएको छ।

प्रकाशित मिति: : 2021-05-14 21:14:00

प्रतिकृया दिनुहोस्