गत वर्ष ऋणात्मक रहेको सबै प्रदेशको आर्थिक वृद्धिदर यसपटक बढ्ने

रातोपाटी

काठमाडाैं

चालु आर्थिक वर्षको (२०७७/७८) आर्थिक वृद्धिदरमा बागमती प्रदेशको सबैभन्दा बढी योगदान हुने केन्द्रिय तथ्यांक विभागले प्रक्षेपण गरेको छ।

विभागले चालु आर्थिक वर्षको प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जीडीपी) को प्रक्षेपण सार्वजनिक गर्दै बागमती प्रदेशको जीडीपी वृद्धिदर बढी हुने अनुमान गरेको हो । जीडीपीमा बागमती प्रदेशको १६ खर्ब ८ अर्ब रुपैयाँ बराबरको योगदान हुने विभागको प्रक्षेपण छ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको जीडीपी वृद्धिदर सबैभन्दा बढी ४.७ र सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.४ प्रतिशत रहने प्रक्षेपण विभागको छ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशको बाहेक सबै प्रदेशको जीडीपी वृद्धिदर ऋणात्मक रहेको थियो। चालु आर्थिक वर्षमा भने सबै प्रदेशको जीडीपी बढ्ने अनुमान गरिएको छ।

वार्षिक राष्ट्रिय ग्राहस्थ उत्पादन उपभोक्ता मूल्यमा ४२ खर्ब ६६ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ। जसमा सबैभन्दा बढी हिस्सा ३७.७ प्रतिशत बागमती प्रदेशको रहने अनुमान छ। नेपालको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर चालु आर्थिक वर्षको उपभोक्ता मूल्यमा ४.०८ प्रतिशत रहने अनुमान विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति: : 2021-05-16 10:16:00

प्रतिकृया दिनुहोस्