विवाह, भोज–भतेरको जमघटले संक्रमण फैलियो, एउटै वडामा ७० संक्रमित

मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन्। नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले जानकारी दिए।

थाहा–३ मा  सङ्क्रमण दर पनि उच्च रहेको छ। यहाँ १०२ मा परीक्षण गरिएकामा ७० सङ्क्रमण देखिएको र सङ्क्रमण दर ६६ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए। सङ्क्रमित हुनेमा स्वास्थ्यकर्मीसमेत  छन्।

विवाह भोज–भतेरको जमघट र अन्य सामूहिक गतिविधिका कारण थाहा–३ मा सङ्क्रमण फैलिएको ‘कन्ट्याक्ट ट्रेसिङ’ बाट देखिएको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका चिकित्सक रिकेस कार्कीले बताए।

थाहा–३ मा क सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना निको भएका छन्। त्यस्तै ६७ जना होम आइसोलेशनमा रहेको नगरपालिकाले जनाएको छ। कुमार नेगी/रासस

प्रकाशित मिति: : 2021-05-16 14:02:00

प्रतिकृया दिनुहोस्