नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट सङ्क्रमित भएका सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
दोस्रो चरणको कोरोना फैलिएपछि जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी सङ्क्रमित भएका छन्। होम आइसुलेशनमा बसेका सञ्चारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिन थालिएको अध्यक्ष पवन अधिकारीले जानकारी दिए।
कोरोनाबाट सङ्क्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क स्वास्थ्य सेवा दिन थालिएको छ। सङ्क्रमित सञ्चारकर्मीलाई घरमै गएर परामर्श दिने र आवश्यक औषधोपचार गर्ने गरी डा अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसँग प्रेस युनियनबीच सहमित भएको अध्यक्ष अधिकारीले बताए।
घरमै गएर सेवा प्रवाह गर्दा सङ्क्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै सङ्क्रमण मुक्त हुनका लागि सहज हुने अधिकारीको भनाइ रहेको छ।
युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरिएको थियो। बीमा गरिएकामध्ये ३० जनालाई जनही एक लाखका दरले रकम समेत पाइसकेको अधिकारीले बताए। रासस