अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिरामका लागि भारत र पाकिस्तान दुबैलाई बधाई दिएका छन्। उनले दुबै देशका नेतृत्वप्रति आफूलाई ‘गर्व’ लागेको पनि बताएका छन्।
ट्रम्पले आफ्नै मध्यस्थतामा भारत-पाकिस्तानबीच युद्ध बिराम गराएका थिए। शनिबार साँझ ५ बजेदेखि एकआपसमा सैन्य लडाईंमै उत्रिएका भारत पाकिस्तान युद्धबिरामका लागि सहमत भएका हुन्। त्यसका लागि ट्रम्पले दुबै देशका प्रधानमन्त्रीहरूसँग धेरै चरणमा फोनवार्ता गरेका थिए।
‘युद्धबिरामका लागि म भारत र पाकिस्तान दुबैलाई बधाई दिन चाहन्छु। मलाई भारत अनि पाकिस्तानको मजबुत र अडिग नेतृत्वप्रति धेरै नै गर्व छ। यो निकै आवश्यक थियो। त्यसलाई रोक्नका लागि दुवै नेतृत्व सफल रहे। यो केबल बहादुरीमात्रै होइन बरु दुबैको बिरासत र गौरवपूर्ण इतिहासको रक्षा पनि हो’ ट्रम्पले लेखेका छन् ‘यो युद्धबाट हजारौं मानिसको ज्यान जोगिएको छ। र, मलाई आशा छ हजारौं वर्षदेखिको ऐतिहासिक विवाद सुल्झाउने समय पनि यही नै हो।’