ईश्वर पोखरेलकाे आँखामा जननेता मदन भण्डारी र जीवराज आश्रित

ईश्वर पाेखरेल

उपप्रधानमन्त्री तथा एमाले महासचिव

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति हार्दिक श्रद्वाञ्जली !

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई अकल्पनीय दुर्घटनाबाट गुमाएको आज २८ बर्ष पुगेको छ। स्व. नेताद्वय भण्डारी र आश्रितको २८औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्वाञ्जली अर्पण गर्न चाहन्छु।

भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको बाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल बन्नुभएको थियो। २०४७ सालमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका बीचमा एकीकरण गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो। यी दुई पार्टी एकीकृत भएर नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण बनेको थियो। छरिएका वाम पार्टीहरूलाई गोलवन्द गर्न तथा लोकतन्त्र पक्षधर गैरवाम शक्तिहरुसँग कार्यगत एकता गरी त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता र निष्कर्षका आधारमा तत्कालिन माले पार्टीले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सफल भएको थियो।

बैचारिक रुपमा प्रखर नेता भण्डारी कम्युनिष्ट आन्दोलनभित्रको व्यक्ति मात्र नभएर नवीन विचार प्रतिपादक तथा अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो। जननेता भण्डारीले हामीलाई छाडेर जानु भए पनि उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’बाट हामी मार्गनिर्देशित छौं। वर्तमान राजनीतिक परिवेशमा उहाँले स्थापित गर्नुभएको विचार झनै सान्दर्भिक र समयसापेक्षित बन्दै गइरहेको छ। त्यसैले हामीले उहाँलाई भावनात्मक हिसाबले मात्र कदापि बुझ्नुहुँदैन्। उहाँलाई एउटा व्यक्तिलाई बुझ्ने जस्तो मात्र कुरा भन्दा पनि यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकास क्रमलाई कसरी वुझ्ने वा वुझ्नुपर्छ भन्ने विषय पनि हो।

जननेता मदन भण्डारीको नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको थियो। त्यही जगमा नेकपा (एमाले) आज जनतामा लोकप्रिय पार्टीका रुपमा स्थापित छ। उहाँले नै वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर मार्क्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो।

२०३५ असार आखिरीमा पहिलोपटक मेरो उहाँसँग भेट भएको थियो। तर, २०५० साल जेठ १ गते बिहान साढे आठ बजेपछि उहाँ कहिल्यै नभेटिने गरी हामीबाट बिदा हुनुभयो। जननेता भण्डारीसितको चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध र सहकार्य तथा मित्रता र सानिध्यतामा अत्यन्त विश्वास, आत्मियतामा एउटै कमिटीका सदस्य र सहयोद्वा कमरेडको रुपमा बिताएँ। मदनसित विताएका ती दिनहरु मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरु हुन्, जसलाई म कहिल्यै विर्सन सक्दिन।

हार्दिक श्रद्वाञ्जली जननेता मदन भण्डारी ! हार्दिक श्रद्वाञ्जली कुशल नेता जीवराज आश्रित ! प्रिय कमरेड, तपाईंहरु सँधै हाम्रो स्मरणमा रहिरहनुहुनेछ।

प्रकाशित मिति: : 2021-05-17 08:23:00

प्रतिकृया दिनुहोस्