क्याट र प्रशासनको लक्ष्य एउटै, मिलेर काम गरौँः प्रजिअ घिमिरे

कोभिड-१९ एक्सन टिम (क्याट) पर्साले बुधबारदेखि वीरगञ्जमा अक्सिजन उत्पादन हुने अक्सिजन उद्योगहरुको अनुगमन गर्ने भएको छ।

कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि क्याटले अनुगमन गर्ने र मागअनुसारको आपूर्तिको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको क्याटका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारीको अध्यक्षतामा बसेको बैठकले अनुगमन तथा व्यवस्थापनमा सक्रिय भएर वीगञ्जलाई कोरोना भाइरस संक्रमणमुक्त बनाउने निर्णय गरेको छ।

कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जस्थित नारायणी अस्पताल, नेशनल मेडिकल कलेजको स्वामित्वमा रहेको अस्थाई कोभिड अस्पताललगायतको अनुगमन र नागरिकको गुनासोलाई समेटेर तयार पारिएको सुझाव पत्र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई बुझाइएको अहमदले बताए।

नेपाली काङ्ग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका सञ्जिव मिश्र, माओवादी केन्द्रका बाबुराम कौशिक, क्याट सदस्य एवम् पत्रकार महासङ्ह सदस्य अमित अग्रवालसहितको सहभागितामा बसेको बैठकले अस्पतालहरुको व्यवस्थापनमा सुधार गर्नुका साथै अक्सिजनको अभावलाई परिपूर्ति गर्नुपर्ने निस्कर्ष निकालेको छ।

मुख्यतयाः निजि अस्पतालहरुले संक्रमितलाई नै अक्सिजन र औषधीको व्यवस्था गर्न लगाउने हुँदा त्यसो नगरी अस्पतालले नै व्यवस्थापन गर्न निर्देशन दिने पनि निर्णय गरेको छ।

बैठकको क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले कोभिड १९ को महामारीमा क्याटले गरेका कार्यहरुको सह्राना गर्दै एकअर्कासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गरे।

क्याट र सरकार दुवैको उद्देश्य एउटै भएकाले जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहित अनुगमन गर्ने र सो क्रममा देखिएका समस्याहरुको समाधान पनि मिलेर गर्नुपर्नेमा प्रजिअ घिमिरेले जोड दिए।

प्रकाशित मिति: : 2021-05-18 18:29:00

प्रतिकृया दिनुहोस्