कोरोनाको सङ्क्रमण बढेसँगै समुदायस्तरमा युवा सक्रिय हुन थालेका छन्।
यहाँका युवाले बिरामीका लागि अक्सिजन आपूर्तिका लागि रकम सङ्कलन गर्ने, औषधि घरसम्म पुर्याउने, अस्पतालमा बिरामीलाई खान तथा खाजाको व्यवस्थापन जस्ता काममा व्यस्त थालेका हुन्।
कैलालीको भजनी नगरपालिकामा एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र छ। दुईजना मात्र मेडिकल अधिकृत। दुवै जना स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचार गर्नाका साथै कोरोना सङ्क्रमितको उपचारमा पनि तिनै चिकित्सक खटिने गरेका छन्।
अक्सिजन अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै भजनीका युवाले सामाजिक सञ्जालमार्फत (बाचौँ र बचाऔँ) अभियानमार्फत आर्थिक सहयोगको आह्वान गरेका छन्। त्यसबाट सङ्कलन भएको रकमले अक्सिजन आपूर्ति गर्नाका साथै स्वास्थ्य सामग्री खरीद गरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्दै आएका छन्।
अभियन्ता सुरेन्द्रप्रसाद जैसीले अक्सिजनको आपूर्तिमा सहजताका लागि सामाजिक सञ्जालमार्फत गरिएको आह्वानबाट हालसम्म करीब पाँच लाख सहयोग सङ्कलन भएको जानकारी दिए।
'भजनीमा अक्सिजनको अभावका कारण कुनै बिरामीले ज्यान गुमाउन नपरोस् भनेर अभियान शुरु गरेका हौँ', अभियन्ता जैसीले भने, 'अहिलेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई सानो र दुई ठूलो अक्सिजन सिलिण्डर खरीद गरी हस्तान्तरण गरिसकेका छौँ। हामीले दुई ठूलो अक्सिजन सिलिण्डर धरौटीमा खरीद गरेका छौँ । त्यसको रकम सङ्कलन हुँदै जाँदा बुझाउने सहमति भएको छ।'
स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत भगवान श्रेष्ठले अधिकांश सङ्क्रमितहरुलाई अक्सिजनको सहयोगमा राख्नु परिरहेको बताउँदै अक्सिजनको चरम अभाव रहेको बताएका छन्।
'हामीसँग १७ वटा सानो र पाँचवटा ठूलो अक्सिजन सिलिण्डरहरु छ। त्यो पर्याप्त छैन', श्रेष्ठले भने, 'रिफिलका लागि पठाएका सिलिण्डरहरु पनि भरी आउँदैन। बिरामीलाई बचाउन हामीलाई निकै सकस हुँदै आएको छ ।” भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेसम्म सातजना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ।
त्यस्तै, युवा सङ्घ नेपालले टीकापुर अस्पतालमा आउने बिरामी र बिरामीका कुरुवालाई खाना र खाजाको व्यवस्था गर्दै आएको छ। युवा सङ्घ नेपालका स्थायी कमिटी सदस्य अशोक रावलको नेतृत्वमा युवाहरूले बिरामी र कुरुवाको खाना र खाजाको व्यवस्था गर्दै आएका छन्। 'यो निकै अप्ठ्यारो अवस्था हो। अहिले बिरामीलाई घरबाट खाना ल्याउनसमेत सम्भव छैन भने कुरुवाले बिरामीलाई छोड्न सक्ने पनि', रावलले भने, 'हामीसँग जति जे छ त्यसै अनुसारको व्यवस्था मिलाएर काम गर्दै आएका छौं। हाम्रो सानो सहयोगले कसैलाई ठूलो राहत मिल्छ भने किन सहयोग नगर्ने ?' उनले हप्तामा पाँच/पाँचजनाको समूह बनाएर काम गर्दै आएको बताउँदै अभियान कोरोनाको अहिलेको अवस्था सामान्य नहुँदासम्म निरन्तर रहने बताएका छन्।
सामाजिक सञ्जालमार्फत टीकापुरका युवाले रकम सङ्कलन गरी अस्पताललाई अक्सिजन सिलिण्डर रिफिल गरी सहयोग गर्दै आएका छन्। अभियन्ता नृपबहादुर रावले अस्पतालमा बिरामीको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। 'जस्ले जति सक्छ स्वस्फुर्त रुपमा सहयोग गर्न सक्छन्। त्यही सङ्कलन भएको सहयोग रकमले अस्पताललाई चाहिने स्वास्थ्य सामग्री र अक्सिजनमा सहयोग गर्दै आएका छौँ, रावले भने, 'यो अभियान निरन्तर छ । हामीले स्वस्फुर्त रुपमा समुदायमा युवाले गर्नुपर्ने जिम्मेवारीको मात्रै बहन गरेका छौँ।'
लम्कीचुहा नगरपालिकामा युवाले पूर्व पश्चिम राजमार्गमा हेल्थ डेस्क सञ्चालन गर्दै आएका छन्। उनीहरुले आवतजावत गर्ने यात्रुहरुलाई मास्क, स्यानिटाइजर, अलपत्र परेकाको उद्धार गरी घरसम्म पुर्याउनाका साथै अत्यावश्यक औषधिहरू घरसम्म पुर्याउने व्यवस्था मिलाएका छन्।
अभियानका सदस्य प्रकाश खनालले हेल्थ डेक्स सञ्चालन भएपछि नागरिकलाई धेरै सहज भएको बन्दै अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गरी बिरामीलाई अस्पतासम्म पुर्याउने कामसमेत गर्दै आएको बताए। 'हामी चार/पाँचजना युवाले अभियान शुरु गरेका थियौं। अहिले थुप्रै जोडिएका छन्। बाहिरबाट पनि सहयोग हुँदै आएको छ।' खनालले भने, 'आफू पनि सुरक्षित रहने र अप्ठ्यारोमा परेकाको गन्तव्यसम्म पुर्याउँदै आएका छौँ।'
उनले अरूले गरिदेला भनेर आशमा बस्नुभन्दा यस्तो महामारीको समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सकिने सहयोग गरे समस्यामा परेकालाई ठूलो राहत मिल्ने बताए। युवाले समाजप्रति देखाएको सहानुभूतिले नागरिकमा युवाप्रति विश्वाससमेत बढ्न थालेको छ। अहिले कुनै समस्या पर्दा अस्पताल पुग्नुभन्दा पहिले युवासँग नागरिकले समन्वय गर्न थालेका छन्। रासस