अहिले देवताको बास अस्पतालमा छ

Breaknlinks
Breaknlinks

यतिबेला संसार कोरोना महामारीसँग लडिरहेको छ।

नेपालमा कोरोना संक्रमणको कारण दिनहुँ सयौं मानिसले ज्यान गुमाइरहेका छन्। अस्पताल कोरोनाका बिरामीले भरिएका छन्। उपचारको लागि भूइँमा समेत ठाउँ पाउन नसकिने अवस्था छ।

कोरोना सङ्क्रमणबाट कतिबेला ज्यान जाने हाे, टुंगो छैन्। अस्पतालमा स्रोत साधनको अभाव छ। सरकारले समयमै उचित कदम चाल्न नसक्दा केही संक्रमितले उपचार नपाएर ज्यान जाने गरेको समाचर सञ्चार माध्यममा आइरहेका छन्। सामाजिक सञ्जाल कोरोनाबाट मृत्यु हुनेहरुको लागि श्रदाञ्जलीले भरिएका छन्।

यस्तो संकटको समयमा सरकार पूर्ण रुपमा उत्तरदायी बनेको पाइदैन। बरु उल्टो गलत अभिव्यक्ति दिएर मानिसलाई त्रसित बनाउने काम गरेको छ। कोरोना संक्रमणको त्रासले सबै मानिस घरभित्र थुनिएका छन्। सरकार नै महामारीबाट आत्तिएको यो अवस्थामा ‘फ्रन्टलाइन’मा रहेर खटिएका स्वास्थ्यकर्मी भने निक्कै आत्म विश्वासका साथ संकटलाई समालिरहेका छन्। यस्तो संकटकालिन समयमा स्वास्थ्यकर्मीहरुलाई भगवान सम्झेर पुज्न मन लाग्छ।

आफ्नो ज्यानको कसलाई पो माया हुदैन र ? तर आफ्नो ज्यानको कुनै प्रवाह नगरी बिरामीको सेवामा खटिरहेका ती स्वास्थ्यकर्मी भगवान हुन्।
सात महिने गर्भवती नर्सले आफ्नो प्रवाह नगरी कोरोना संक्रमितको सेवामा खटिएकी छिन्। स्वास्थ्यकर्मीहरु अस्पतालको भुइँमा सुतेर संक्रमितका उपचार गरिहेका छन्। उनीहरुलाई देख्दा, यी नै हुन साक्षत देवता प्रकट भएको जस्तो लाग्छ।

देवता भनेका त सुखमा प्रकट हुने होइन, दुःखमा प्रकट भएर साथ दिने रहेछन् भन्ने कुरा ती स्वास्थ्यकमीलाई लिन सकिन्छ। चार महिने दुधेबच्चाको माया हुँदाहुँदै पनि मनमा छल्किएको ममतालाई लुकाएर दिनरात नभनी बिरामीको सेवामा खटिने ति नर्सहरु देवी नै हुन। न कुनै खाने ठेगान छ, न त कुनै सुत्ने समय निश्चित। निरन्तर बिरामीको सुरक्षामा खटिएका छन्।

स्वास्थ्यकर्मीले थोरै मात्र समयको महत्व नबुझ्ने हो भने छिन भरमै कयौं संक्रमितको ज्यान जान सक्छ। त्यही जिम्मेवारी पूरा गरिरहेका स्वास्थ्यकर्मीले भोक, निन्द्र वास्ता नगरी खटिएका छन्।

संक्रमितको उपचार गर्दा आफै कोरोनाबाट संक्रमित भएका स्वास्थ्यकर्मी पनि उपचारमा खटिएका छन्। कठिनाईको कुनै प्रवाह नगरी कोरोनाका बिरामीको उपाचारमा खटिएका समाचार सुन्दा मनमा खुसीको लहरसँगै पिडाका बाधहरु फुटेर आउछन्। आफ्नो शरिरलाई ढुंगा सम्झेर बिरामीको स्वास्थ्यलाई महत्व दिने स्वास्थ्यकर्मी नै मेरो लागि देवता हुन्।

कसैको मृत्युको खबर पाउँदा वा देख्दा हाम्रो मन स्वभाविक रुपमा आत्तिने गर्छ।  स्वास्थ्यकर्मीलाई हामीसँग तुलना गर्न मिल्दैन, तर पनि उनीहरु पनि मान्छे नै हुन्। जो कोहीसँग पनि डर त हुन्छ नै। स्वास्थ्यकर्मी भने धेरै पटक कोरोना संक्रमणबाट मृत्यु भएकाको शवसँग ‘फेस’ गरिरहेका छन्। 
‘बिरामीको उपचार गर्दा गर्दै मरिएछ भने मरौला, बाँच्यो भने अझै बिरामीको सेवा गर्ने मन छ।’ स्वास्थ्यकर्मीका यी र यस्ता अभिव्यक्तिले सबैलाई भावुक बनाइरहेको छ। 

यो महामारीको समयमा मन्दिरका भगवनलाई होइन अस्पतालका ती स्वास्थ्यकर्मीलाई दर्शन गर्न मन लाग्छ। संकटमा ज्यानको माया मारेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीे साच्चिकै महान हुन्। कसैले भगवान कँहा छन् भनेर सोध्यो भने अस्पताललाई मन्दिर र स्वास्थ्यकर्मीलाई देवता भन्न मन लाग्छ। महामारीमा आफूलाई जोखिममा राखेर बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मेरो सलाम छ। 

प्रकाशित मिति: : 2021-05-20 11:11:00

प्रतिकृया दिनुहोस्