जिल्लाका कोभिड सङ्क्रमण भई मृत्यु भएकाहरुको अन्त्येष्टि निःशुल्क हुने भएको छ।
दाहसंस्कारमा चर्काे शुल्क तिर्नु परेको गुनासो आएपछि भरतपुर महानगरपालिकाको अगुवाइमा सरोकारवालहरुको आज यहाँ सम्पन्न बैठकले सङ्क्रमितको अन्त्येष्टि निःशुल्क गर्ने निर्णय गरेको हो।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शव वाहन, खाल्डो खन्ने जेसिबी, शव जलाउने दाउरा महानगरले व्यहोर्ने गरी निर्णय भएको बताए।
लायन्स क्लब इन्टरनेशनल ३२५ बीटु नेपालले उपलब्ध गराएको शव वाहन पनि प्रयोगमा ल्याईने छ। देवघाट क्षेत्र विकास समितिबाट महानगरपालिकाले खरिद गरेको दाउराले अपुगे हुने शवका लागि स्थानीय सामुदायिक वनहरुले दाउरा सहयोग गर्ने भएका छन्।
नेपाली सेनाले शव भएको ठाउँबाट खाल्डो वा चितामा राख्नेसम्मको काम गर्दै आएको छ। अन्त्येष्टिको जलाउने लगायतका अन्य आवश्यक काम मृतकका परिवार र आफन्तले गर्न नसकेमा महानगरले सहयोग गर्ने दाहालले बताए।
विज्ञहरुका अनुसार शवबाट सङ्क्रमण नसर्ने बताइएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दाउराको व्ययभार बढ्दै गएमा मन्त्रालयले देवघाट क्षेत्र विकास समितिलाई बजेट निकासा गरेर सहजीकरण गर्ने आश्वासन समेत प्राप्त भएको बताए। उनले भने, 'अब यहाँ दाहसंस्कारमा अतिरिक्त खर्च लाग्दैन। निःशुल्क हुन्छ।'
देवघाट नजिक बागेश्वरीस्थित नारायणी नदी किनारमा सङ्क्रमितको अन्त्येष्टि हुँदै आएको छ। यस अघि विभिन्न व्यक्तिहरुले दाहसंस्कारका लागि रु.३५ हजारसम्म लिएको गुनासो आएपछि स्थानीय प्रशासन र महानगरपालिकाको ध्यानाकर्षण भएको हो। रासस