एक डाक्टरको कथा, जो संक्रमितलाई घर–घर पुगेर उपचार गर्छन्

आयोमेल

काठमाडौँ

अनिता श्रेष्ठ

कोरोना संक्रमणका कारण देशभरका अस्पतालहरुमा हाल ९ हजार ४ सय २७ कोरोना संक्रमितहरु उपचाररत छन् भने होम आइसोलेसनमा झण्डै एक लाख ७ हजार ८२ छन्।

सरकार निजी तथा सरकारी अस्पतालमा भर्ना हुन आउने बिरामीहरुमा मात्र केन्द्रित रहँदा उपचार तथा अक्सिजन अभावमा कयौं व्यक्ति घरमै मृत्युवरण गर्न वाध्य छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परामर्शका लागि केही डाक्टर तथा हेल्पलाइन खडा गरे पनि कार्यालय समयवाहेक आम जनताले अन्य समयमा याे सेवा पाउँदैनन्।

यस्तो समयमा दाङका एक एमबिबिएस डाक्टर घर–घर पुगेर उपचार सेवा दिइरहेका छन्।

बंगलादेशबाट एमबिबिएस अध्ययन सकेर आएका डा. गीरबहादुर महरा इन्टर्नसीप सकिएलगत्तै आफ्नो गाउँको सेवामा जुटेका छन्।

गत वर्ष कोरोनाको समयमा लकडाउनका कारण उपचारका लागि अन्यत्र जान नपाए पनि उनले मास्क वितरण गर्ने, गरिब तथा असहायलाई खाना खुवाउनेजस्ता काम गरेका थिए। यस वर्ष महामारीले स्वास्थ्य क्षेत्रमै संकट सृजना गरेपछि एक्लै भए पनि घरघरमा गएर सेवा दिने विचार पलाएको थियो उनको मनमा।

‘कोभिडको समयमा कोही पनि मेडिकल डाक्टरले फिल्डमै गएर होम आइसोलेसनमा बसेका विरामी जाँचेका छैनन्। फोनबाट सबै स्थिति बुझ्न सकिँदैन। विरामीलाई प्रत्यक्ष भेटेर जाँच्दा उनीहरुको अक्सिजनको मात्रा, स्याचुरेन तथा विरामीको मनोबल बढाउन सकिन्छ। त्यसैले पनि मैले घरघरमै गएर सेवा दिने विचार गरेको हुँ,’ महराले भने।

हरेक दिन उनी ९ देखि १० जना संक्रमितको घरमा पुग्छन्। उनी दैनिक १५ घण्टासम्म यसरी नै उपचारमा बिताउँछन्।

‘मैले सकेको र जानेको ज्ञान प्रयोग गरेर राति २ बजेसम्म पनि बिरामीलाई उपचार गर्छु। आपत परेको समयमा राति पुग्ने गरेको छु भने अन्य समयमा १० देखि १२ बजेसम्म पनि बाहिर नै हुन्छु,’ उनले भने।

आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न उनी हरेक दिन उपचारबाट फर्कनासाथ नुहाउने गर्दछन्। र, बच्चाको सुरक्षाका लागि छुट्टै बस्छन्।

प्रकाशित मिति: : 2021-05-20 14:20:00

प्रतिकृया दिनुहोस्