नेकपा (एमाले) स्थायी कमिटीको बैठकले एमालेका जनप्रतिनिधिले पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिई खिमलाल देवकोटालाई मद दिएको कुरालाई गम्भीरता साथ लिँदै भत्र्सना गर्ने निर्णय गरेको छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा भएको मतदान नसकिँदै बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जारी वक्तव्यमा उल्लेख छ, ‘आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ।’
बैठकको निर्णय हेर्दा एमालेका उम्मेद्वारले जित्ने संभावना न्युन देखिन्छ। बादल पराजित भएमा एमालेको एकता प्रयास पनि अन्त्य हुनसक्ने पूर्वसंकेत उक्त बैठकले गरेको छ।
विपक्षी दलहरु कांग्रेस र माओवादी पार्टीको समर्थनमा माधवकुमार नेपालले नेतृत्व गरेको ‘समानान्तर समूह’ का तर्फबाट उठाइएका स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटाले बादलसँग प्रतिस्पर्धा गर्दै छन्।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए।
‘बैठकले सरकारका प्रयासहरु सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकले एमाले केन्द्रीय सदस्य एवं पूर्व सांसद कमरेड योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।