राष्ट्रपतिमाथि महाअभियोग लगाऊ, नयाँ सरकार बनाऊ : विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएकाे भन्दै चिन्ता व्यक्त गरेकाे छ।  

आज एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले संविधानको रक्षा गर्ने दायित्व बोकेकी राष्ट्रपतिले नै बारम्बार साख गिराउने र अपमान गर्ने काम गरेकाे बताएकाे छ। साथै राष्ट्रपति भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्ने र संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्नसमेत आह्वान गरेकाे छ।

प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

विज्ञप्तिमा भनिएकाे छ, 'प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम हो।'

'वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु, ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता हो।', विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: : 2021-05-21 09:11:00

प्रतिकृया दिनुहोस्