युवा पुस्ताका स्वास्थ्यकर्मीको उत्साह : कोभिडमा पनि सफल शल्यक्रिया हुँदै

नरेन्द्रसिंह कार्की 

'हामी थकित छौँ, तर महामारीका बीच पनि सेवामा अवरोध नहोस् भन्ने हाम्रो प्रतिबद्धता कायम छ', यो स्टाटस जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा आर्दश लिम्बूले जेठ १ गते लेखेका हुन्। 

जतिबेला जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीले अस्पताल भरिएको थियो। अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याइएको आइसोलेशन १५ शय्या भरिएपछि थप व्यवस्थापन गर्नुपरेको थियो। 

एकातिर कोरोना सङ्क्रमित भएर आउने बिरामी दिनानुदिन बढ्दै थिए भने अर्कोतिर जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामी पनि अस्पतालमै थिए। 

अहिले अस्पतालमा युवा पुस्ताका स्वास्थ्यकर्मीको टोली छ। तर दुवैतर्फ स्वास्थ्यकर्मी खटाउन पर्याप्त जनशक्ति छैन। अस्पतालको नेतृत्व गरेका एमडिजिपी डा लिम्बू आएयता जटिल प्रकृतिका शल्यक्रिया हुन थालेका छन्। जुन  दिन उहाँले स्टाटस लेख्नुभयो, त्यस दिन ७२ वर्षीय वृद्धको अण्डकोषको सफल शल्यक्रिया भएको थियो। वृद्धको शल्यक्रिया सफल भएपछि स्वास्थ्यकर्मीको उत्साह पनि थप बढेको हो। 

कोरोनाको दोस्रो चरण प्रवेश गरेयता अस्पतालमै चार सफल शल्यक्रिया भएका छन्, जिल्ला अस्पताल दार्चुलाका एनेस्थेसिया असिस्टेन्ट बागेश्वरप्रसाद मिश्र (विपिन)ले भने, कोरोनाका बीच पनि हामीले शल्यक्रियाका काम पनि रोकेका छैनौं। जुन सामूहिक कामले सफल भएका छौँ। उनको टिमको सहयात्री छन्, मेडिकल अधिकृत नवीनकिशोर मल्ल, पूजा बम, जाफर अन्सारी, सुदूरपश्चिम प्रदेशबाट खटाइएका मेडिकल अधिकृत देवेन्द्र नेगी र एनेस्थेसिया असिस्टेन्टका रूपमा बागेश्वरप्रसाद मिश्र। सीमित स्रोत साधनकाबीच यो टिमको सामूहिक प्रयासले जटिल प्रकृतिका शल्यक्रिया सफल भइहेको उनीहरुको दाबी छ। 

मिश्रका अनुसार वैशाखयता बच्चा उल्टो भएकी गर्भवतीको सफल शल्यक्रिया भएको थियो। महिला जटिल अवस्था भएपछि मात्रै अस्पताल पुग्नुभएको थियो। अस्पतालमा शल्यक्रिया हुँदैन भन्ने लागेको थियो, तर पनि हाम्रो टिमले सफलता हासिल गर्यो, उनले भने। 

यस्तै स्तनमा समस्या भएका महिलाको सफल शल्यक्रिया जिल्ला अस्पतालमै गरिएको छ। अहिलेको स्वास्थ्यकर्मीको सामूहिक प्रयासबाट जटिल प्रकृतिका शल्यक्रिया पनि सहजरूपमा हुने गरेको मिश्रको बुझाइ छ। हामी सामूहिकरूपमा छलफल गर्छौँ, उनी भन्छन्, 'सकेसम्म जिल्लामै हुने कामलाई बाहिर सिफारिश गर्न चाहँदैनौँ।' यसो त जिल्लामा एमडिजीपी लिम्बूले नेतृत्व गरेपछि तीन/चार वर्षयता रोकिएका शल्यक्रियाहरू हुन थालेका छन्। जुम्ल्याहा गर्भवतीको शल्यक्रियाका माध्यमबाट काम शुरु भएको थियो।

हात भाँच्चिएर आएका बिरामीको शल्यक्रिया पनि जिल्लामै गरेका छौँ, जिल्ला अस्पताल दार्चुलाका डा लिम्बूले भने, 'यो पनि धेरै समयपछि भएको छ। हर्निया, हाइड्रोसिल, एपेन्डिक्स सुन्निएका बिरामीको शल्यक्रिया यस बीचमा भएका छन्।' वैशाखदेखि कोरोना निकै बढेको तर अस्पतालको थोरै जनशक्तिबाट शल्यक्रिया, कोरोना सङ्क्रमितको उपचार र नियमित बिरामीको उपचारसँगसँगै अघि बढाएका छौँ। हामीसँग भएको जनशक्ति अहिले पर्याप्त होइन। 'तर पनि कोभिडमा सबै लागिरहेको बेला व्यवस्थापन गरेका छौँ' मिश्र भन्छन्।

'अस्पतालसँग पर्याप्त भौतिक पूर्वाधार पनि छैन। अझै दक्ष जनशक्तिको व्यवस्थापन हुनसकेको छैन। आइसीयू र भेन्टिलेटर चलाउने जनशक्ति थप व्यवस्थापन हुन नसक्दा थोरै जनशक्ति लगाउनुपरेको छ', डा लिम्बूले भने, 'तैपनि अस्पतालले थप जनशक्ति व्यवस्थापनको प्रयास गरिरहेको छ।' 

अहिले अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासनले काममा हौसला बढाएका कारण पनि स्वास्थ्यकर्मी कोरोनाबीच पनि निरन्तर काममा लागेका छन्। अहिले पनि कोभिडका बिरामी धेरै आउँदैछन्। लामो समयसम्म घरमै बस्ने र जटिल अवस्थामा मात्रै कोरोनाका बिरामी अस्पताल आउने हुँदा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। 

विसं २०७० को बाढीले अस्पतालको जमिन बगाएको थियो भने केही भौतिक संरचनामा क्षति पुर्याएको थियो। अहिले सीमित भूगोलभित्र अस्पताल सञ्चालनमा छ। जसकारण अस्पताललाई चाहिने पर्याप्त पूर्वाधार निर्माण हुन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजीतसिंह धामी बताउछन्। 

अहिले भएकै जमिनलाई उपयोग हुने गरी ५० शय्याको अस्पताल निर्माणका लागि बोलपत्र आह्वान भएको छ। नयाँ भवन निर्माणपछि अस्पतालको सबै सेवा थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ। रासस 

प्रकाशित मिति: : 2021-05-21 09:47:00

प्रतिकृया दिनुहोस्