अचेल पिँठ्यू हलुका छ, मन भारी

सेतोपाटी

काठमाडौँ

निर्मला घिमिरे

बुढ्यौलीका धर्साहरूले मुजा परेको अनुहार। खुइलिएको तालु। पट्पट फुटेका पैताला। छेवैमा खोलेर राखिएका एक जोर चप्पल। कालीमाटी र टेकु जोडिने पुलको नजिकै रूखमुनि टोलाइरहेका थिए उनी।

घरिघरि नजर यताउति डुलाउँदै, केही, कसैलाई खोजिरहेका थिए।

उनी हुन् ५६ वर्षीय पूर्णबहादुर कार्की। महादेववेशी धादिङ घर भएका पूर्णबहादुर दैनिक ज्यालादारी मजदुर हुन्। विगत दुई दशकदेखि उपत्यकाका गाडीहरूमा सामान लोड-अनलोड गर्दै उनको गुजारा चलिरहेको छ।

निषेधाज्ञायता पूर्णबहादुरले गह्रुँगो सामान उचाल्न पाएका छैनन्। हात र पिठ्यूँलाई हाइसञ्चो भए पनि पेट हुँडलिँदा मन भारी भएको छ। त्यही बोझले धर्मराएका उनी चौतारीमा बसिरहेका छन्। 

पूर्णबहादुरको बस्ने डेरा भने भिमसेनथानमा हो। भाडा हरेक महिना चार हजार रूपैयाँ बुझाउनुपर्छ। श्रीमती र आफूसहित छोराको खाना र पढाइ खर्च त्यही काम गरेर जुटाउनुपर्छ।

'काम हुँदा त दिनको एक हजारदेखि कहिलेकाहीँ दुई हजारसम्म पनि भएकै हो। तर खासै बच्दैन, अलिकति बचाएको पनि अस्ति लकडाउन हुने भनेपछि सामान जोरजाम गर्दा सकियो। अब यस्तै भइरहने हो भने के खाने होला,' उनले विरक्तिएको भावमा भने, 'काम पाइए त खानेकुरा जोहो गर्न सजिलो हुन्थ्यो।'

उनले काठमाडौंमा बसेर खान, भाडा तिर्न र छोरालाई पढाउन खर्च पुर्‍याएकै थिए। कुनै दिन कमाइ नभए भोलिपल्ट काम पाइन्छ भन्ने आश हुन्थ्यो। आजभोलि त आश गर्ने समय पनि छैन। तै पनि पूर्णबहादुर कोठाबाट बिहानै निस्किन्छन्। कालीमाटी, टेकु, डल्लु, नरदेवी, क्षेत्रपाटी, न्यूरोड लगायत मुख्य ठाउँ पैतालाले नाप्छन्। काम पाउने आशमा सडकका पेटीतिर बस्छन्। कहिलेकाहीँ खाना खान घर फर्किन्छन्। खानापछि फेरि काम पाउने आशमा उसैगरी सडक र गल्लीहरू चहार्छन्।

प्रकाशित मिति: : 2021-05-21 14:39:00

प्रतिकृया दिनुहोस्