राष्ट्रपतिसमक्ष ओलीले १५३ सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका छन्।
उनले बुझाएको हस्ताक्षरमा एमालेको १२१ र राजपा संसदीय दलका नेता राजेन्द्र महतोसहित सो दलका ३२ सांसद्को हस्ताक्षर छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफूसँगै सिंगै एमालेको मतभार रहेको दाबी प्रस्तुत गरे। शितल निवास जानुअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले आफूसँग १२१ सीट रहेको बताउँदै भने, ‘म दाबी गर्ने प्रयासमा छु। मसँग १२१ मतभार छ। यदि भरपर्दो आधार लागे म सरकार बनाउँछु।’
उनले राष्ट्रिय सरकार बनाउन आफू पनि तयार रहेको बताए। उनले प्रतिनिधिसभा जोगाउने हो भने सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै अरु दललाई आह्वान पनि गरे। ‘आउनुस्, राष्ट्रिय सरकार बनाऊँ, सहमतिको साथ अघि बढौँ, अविश्वासको बाटो नलागौँ’, प्रधानमन्त्री ओलीले भने, ‘एमालेसँग २७१ मध्ये १२१ सीट छ। अर्को सरकार बन्न नसकेका कारण प्रतिनिधिसभा विघटनमा गयो भने १५० सीट भएका पार्टीहरुले जिम्मेवारी लिनुपर्छ।’