म्यान्मार सैन्य 'कू': आन्दोलनका क्रममा अहिलेसम्म ८१८ जनाको मृत्यु

Photo - Reuters
Photo - Reuters

सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यान्मारमा अहिलेसम्म ८१८ जनाको मृत्यु भएको छ। कुल मृतकमध्ये तीन जनाको आइतबार मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली हानेर मारेका हुन्। सहरबाट माग भएअनुसार गाउँबाट खाद्य पदार्थ लिएर आइरहेका बेला उनीहरुको हत्या भएको जनाइएको छ। उनीहरुको शव पनि सैनिकले नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ।

सैनिक सरकारले अहिले चार हजार २९६ जनालाई गिरफ्तार गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ। त्यसैगरी एक हजार ८२२ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।

आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा क्रममा अहिलेसम्म १३ सुरक्षाकर्मीको मृत्यु भएको छ। गत फेब्रअरी १ मा म्यान्मारको सेनाले तत्कालिन सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएपछि अहिलेसम्म पनि आन्दोलन भइरहेको छ।

सैन्य सरकारले म्यान्मारकी नेतृ आङ सान सुकीसहितका शिर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ। उनीहरुलाई नियन्त्रणमा राखेपनि आम नागरिक र राजनीतिक दलहरुको तर्फबाट आन्दोलन भने निरन्तर भइरहेको छ।

प्रकाशित मिति: : 2021-05-25 06:09:00

प्रतिकृया दिनुहोस्