मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीको दोश्रो लहर व्यवस्थित जनशक्ति परिचालनमा लुम्बिनी प्रदेश अगाडि रहेको बताएका छन्।
आज बसेको सर्वदलीय बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण शुरु भएको वर्षदेखि नै प्रदेशमा ६ सय जनशक्ति थप गरी निरन्तर खटाएको बताए।
उक्त बैठकमा कोरोना नियन्त्रण र उपचारमा लुम्बिनी प्रदेश सरकारले गरेको कामका साथै आउँदो दिनहरुमा गर्नपर्ने कार्यबारे छलफल भएको थियो। कोरोना संक्रमितका लागि अक्सिजनको सहज आपूर्ति व्यवस्था मिलाइएको उनको भनाइ थियो।
तीन वर्षसम्म प्रदेशसभा सहमति र सहकार्यको आधारमा सञ्चालन भएर नमूना बनेको बताउँदै उनले भने, 'आगामी दिनमा पनि सहमति र सहकार्यको यात्रालाई निरन्तर दिनेछौं।'
सो बैठकमा सत्तारुढ एमाले लुम्विनी प्रदेश कमिटी अध्यक्ष एंव पूर्वमन्त्री लिला गिरी,प्रमुख सचेतक भुमिश्वर ढकाल, प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, प्रमुख सचेतक फकरुद्दीन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, प्रदेश सरकारका मन्त्रीहरु आर्थिक मामिलामन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डे र शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डेको सहभागिता रहेको थियो।