होम आइसोलेशन बिरामीलाई सहायता कक्षको सुविधा

quint Hindi
quint Hindi

वाग्मती प्रदेशको राजधानी हेटौँडा मकवानपुरका क्रियाशील विभिन्न सङ्घसंस्थाको संयुक्त सहकार्यमा सञ्चालनमा आएको कोभिड सहायता कक्ष (डेल्पडेक्स) बाट कोभिड–१९ सङ्क्रमित भई होम आइसोलेशनमा बसेका बिरामीको उपचारमा सघाउ पुगेको छ। 

विशेषगरी कोभिड–१९ सङ्क्रमित भई होम आइसोलेशन मा बसेका बिरामीलाई सहायता कक्षमार्फत एम्बुलेन्स, अक्सिजन, औषधिको व्यवस्थापन र स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउँदै आइएको हो। 

बिरामीलाई अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा कोभिड सहायता कक्षको सचिवालय सञ्चालनमा आएको छ। 

सहायता कक्ष स्थापनापछि होम आइसोलेशन मा बसेका कोभिड सङ्क्रमितलाई एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्यकर्मीको टोली घरघरमै पुगी परामर्श सेवा, अत्यावश्यक औषधि वितरण तथा आवश्यकतानुसार घरमै अक्सिजनसमेत उपलब्ध गराइएको सहायता कक्षका संयोजक एवं सङ्घका अध्यक्ष कृष्ण कटुवालले बताए। 

स्वास्थ्यकर्मीले सङ्क्रमितसँग कुराकानी गर्नेछन्, कुनै कठिनाइ भए तत्काल अस्पताल ल्याउन या सङ्क्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधिको व्यवस्था गरिने अध्यक्ष कटुवालले बताए।

उनले भने, 'कोभिड १९ को सङ्क्रमणका कारण अप्ठ्यारो भयो, बिरामीलाई च्याप्यो भन्ने हेल्पडेक्समा टेलिफोन आएमा अक्सिजन सुविधासहितको एम्बुलेन्स सेवा उपलब्ध  गराइने छ। अस्पताल आउन वा अस्पतालबाट घर फर्किन पनि एम्बुलेन्स सेवा छ।'

बिरामीलाई अस्पताल ल्याउन या अस्पतालबाट घर पठाउँदा अक्सिजन सिलिण्डरको अभावमा कन्सन्ट्रेटर पनि प्रयोगमा ल्याउन सकिन्छ। दुईवटा कन्सन्ट्रेटर उपलब्ध छ।

मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील सङ्घसंस्थाले एकीकृतरुपमा कोभिड—१९ न्यूनीकरण अभियान सञ्चालनअन्र्तगत कोभिड सहायता कक्ष स्थापना गरेका हुन्। 

हेटौँडा अस्पतालसहित अन्य अस्पतालमा उपचाररत कोभिड–१९ बिरामीलाई आवश्यकतानुसार एम्बुलेन्स सेवासहित औषधि उपलब्ध गरिएको कोभिड सहायता कक्षको सचिवालय सदस्य तथा नारायणी सङ्घ हेटौँडाका महासचिव सरोज खनालले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-05-29 14:20:00

प्रतिकृया दिनुहोस्