मलेसियामा नेपाली कार्यरत अमेरिकी टायर कम्पनीविरूद्ध मुद्धा 

बिएल संवाददाता

क्वालालम्पुर
photo : reuters
photo : reuters

मलेसियास्थित अमेरिकी टायर निर्माता कम्पनी गुडइयरविरूद्ध श्रमिकको तलब कटौती गरेको, राहदानी कब्जा गरेको, ओभरटाइम बापतको रकम हिनामिना गरेको तथा अदालतमा मुद्दा हाल्ने श्रमिकलाई धम्की दिएको लगायतका विषयमा मुद्दा परेको छ।

नेपाल, म्यान्मार तथा भारतका श्रमिक कार्यरत सो कम्पनीले ठूलो परिमाणमा श्रमिकको तलब भुक्तानी गर्न बाँकी रहेको बेलायती सञ्चार संस्था रोयटर्सले सार्वजनिक गरेको छ। सो कम्पनीमा कार्यरत तथा पहिले काम गरेका ६ जना श्रमिकले कम्पनीले गैरकानुनी रुपमा तलब कटौती गरेको, धेरै समय काम गर्न बाध्य पारेको तथा राहदानी कब्जामा राखेको आरोप लगाएका थिए। 

रोयटर्सका अनुसार कम्पनीमा काम गरेका एक जना श्रमिकले काम गरेको आठ वर्ष पश्चात् मात्र राहदानी फिर्ता पाएको बताएका छन्। 

श्रम विभागले पनि सो कम्पनीलाई सन् २०२० मा श्रमिकलाई गैरकानुनी रुपमा बढी समय काममा लगाएको तथा प्रवासी श्रमिकलाई थोरै ज्याला दिएको विषयमा कारबाही गरेको पुष्टि गरेको छ।

कम्पनीविरुद्ध सन् २०१९ मा दुईवटा तथा सन् २०२० मा एक गरी तीनवटा मुद्दा अदालतमा दायर छन्। १ सय ८५ श्रमिकले आफूले मलेसियाको श्रम कानून अनुसार पाउनुपर्ने सुविधा नपाएको भन्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए। 

सो मुद्दामा स्थानीय अदालतले श्रमिकको पक्षमा फैसला गरेको थियो। अदालतको  वेवसाइटबाट प्रकाशित फैसलामा पनि बिदेशी श्रमिकले स्थानीय मलेसियाली श्रमिकले पाउने सरह नै सेवासुविधा पाउने उल्लेख छ।

कम्पनीले गैरकानुनी रुपमा श्रमिकलाई अतिरिक्त समय काममा लगाएको पाइएको छ। मलेसियाको श्रम कानुन अनुसार मासिक १ सय ४ घण्टा भन्दा बढि समय काममा लगाउन नपाइने नियम छ। तर कम्पनीले मासिक २ सय २९ घण्टासम्म अतिरिक्त समय काममा लगाएको पाइएको छ। 

श्रमिकको हकमा मुद्दा लडिरहेका अधिवक्ता चन्द्रा सेगरन राजेन्द्रनलाई उद्धृत गर्दै  रोयटर्सले कम्पनीले श्रमिकसँग ५० लाख रिंगिट बराबर ठगी गरेको लेखेको छ। 

 गुडइयर कम्पनी विश्वकै ठूलो मध्येको एक टायर उत्पादक कम्पनी मानिन्छ। सो कम्पनीले अदालतको दुवै निर्णयविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको छ। उच्च अदालतले आउँदो जुलाई २६ मा यसको फैसला सुनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, श्रमिकले हालेको तेस्रो मुद्दाको फैसला आगामी साता हुने अनुमान गरिएको छ। 

गुडइयरले भने आफ्नो बचाउ गर्न खोजेको  छ। मानवअधिकार रक्षाका सन्दर्भमा कम्पनीको बलियो नीति तथा अभ्यास रहेको उसले बताएको छ। कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका तथा कम्पनीविरुद्ध मुद्दा हाल्ने मध्येका नेपाली श्रमिक शरण कुमार राईले श्रमिकको डफ्फाअनुसार कम्पनीको नियम र व्यवहार फरक हुने गरेको बताए। 

कम्पनीले मुद्दा हाल्ने श्रमिकलाई आफूले मुद्दा फिर्ता लिने भनेर जबर्जस्ती सही गर्न बाध्य पारेको पनि खुल्न आएको छ। त्यसविरुद्ध प्रहरीमा उजुरी परेको छ।  

गत वर्षको अदालतको फैसलाको सन्दर्भमा गुडइयर मलेसियाले बिदेशी श्रमिकहरु युनियनको सदस्य नभएको हुनाले सामूहिक सम्झौताको फाइदाको हकदार नहुने  तर्क गरेको छ। युनियनका एक प्रतिनिधिले कुनै बिदेशी श्रमिक युनियनको सदस्य नभए पनि  सामुहिक सम्झौतामा उल्लेखित सुविधाको हकदार हुने बताएका छन्। 

मलेसियाको श्रम विभागले सन् २०२० मा श्रम कानूनसँग सम्बन्धित अतिरिक्त घण्टा काममा लगाएको, गलत तरिकाले पारिश्रमिक कटौती गरेको लगायत ९ भन्दा बढी नियम उल्लंघनका घटनामा गुडइयरलाई ४१ हजार ५  सय रिंगेट जरिवाना तिराएको थियो।

प्रकाशित मिति: : 2021-05-31 20:20:00

प्रतिकृया दिनुहोस्