एमाले नगर कमिटीले खरिद गर्यो ५० थान अक्सिजन सिलिण्डर

File photo
File photo

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ। 

विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो। आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।

नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम सङ्कलन गरेको थियो। सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी रु छ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव सुभास भट्टराईले जानकारी दिए। 

उहाँका अनुसार प्रतिसिलिण्डर रु १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ। उनले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताए। बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएकोे छ। 

मेचीनगर हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने

दैनिकरूपमा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको मेचीनगर नगरपालिकाले अब हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने भएको छ। 

नगरपालिकाले नगरमा कोभिड–१९ को सङ्क्रमितको दर घटेसँगै पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हप्तामा दुई पटक र एन्टिजेन परीक्षणका लागि चार दिन स्वाब सङ्कलन गर्ने भएको हो। 

नगरस्तरीय कोभिड सङ्क्रमण नियन्त्रण कार्यदलले आइतबार र बुधबार  मध्याह्न १२ देखि १ बजेसम्म पिसिआर र सोमबार र शुक्रबार सोही समयमा एन्टिजेन परीक्षणका लागि स्वाब सङ्कलन गरिने जनाएको छ। दुवै परीक्षणका लागि स्वाब सङ्कलन स्थल भने मेचीनगर–८ मा रहेको आदर्श माध्यमिक विद्यालय परिसरलाई तोकिएको छ। रासस  

प्रकाशित मिति: : 2021-06-02 09:19:00

प्रतिकृया दिनुहोस्