उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले नियुक्तलगत्तै दिएको सार्वजनिक अभिव्यक्तिको चारैतिर विराेध भएपछि उनले स्पष्टीकरण दिएका छन्।
महतोले शनिबार राति एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई गलत अर्थ लगाएर प्रचार गरिएकाे बताएका छन्। राति साढे ११ बजे जारी विज्ञप्तिमा उनले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति अस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ,’ महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले यो संविधानमा रहेका आफ्ना असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन कार्यदलमा धारणा राख्नेसमेत उल्लेख गरेका छन्।