भारत-पाकिस्तान सैन्य वार्ता : सहमति के भयो?

भारत-पाकिस्तानका सैन्य उच्चअधिकारीहरूले दुबैतर्फबाट कुनै पनि आक्रमण नगर्ने सहमति गरेका छन्। सोमबार अबेरसम्म भएको वार्तामा सीमा क्षेत्रहरूमा तैनाथ सैन्य संख्या घटाउनेबारेमा पनि सहमति भएको छ। 

सैन्यअधिकारीहरूबीच वार्ता हुँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै थिए र अहिलेका लागि ‘अपरेशन सिन्दूर’ नभएर सैन्य कारबाहीमात्रै रोकिएको बताएका थिए। पाकिस्तानलाई उनले कैयौ चेतावनी पनि दिएका छन्। 

यसबीचमा सोमबार राति नै जम्मुकश्मिर क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको भन्दै भारतीय पक्षले पाकिस्तानलाई सचेत गराएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातभरि दुबै देशका प्रधानमन्त्रीहरूसँग फोनवार्ता गरेर युद्धबिरामको सहमति भएको थियो। 

यो पहिलो चरणको वार्ताको नेतृत्व दुबै देशका सैन्य अपरेशन महानिर्देशकहरूले गरेका थिए।

गत अप्रिल २२ मा एउटा आतंकवादी संगठनका लडाकुहरूले जम्मु कश्मिरको पहलगाममा २६ जना पर्यटकहरूको हत्या गरेका थिए। त्यसमा एकजना नेपाली पनि थिए। भारतले पाकिस्तानको सेनाले उक्त आतंकवादी संगठनलाई संरक्षण गरेको आरोप लगाएपछि दुबैबीच तनाव चुलिएको थियो। 

त्यसको करिब १५ दिनपछि भारतीय सैनिकले पाकिस्तानका विभिन्न क्षेत्रमा ब्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियो। त्यसपछि दुबैबीच युद्ध चर्कियो। करिब ८६ घण्टासम्म युद्धको अन्योलपछि शनिबार साँझ ५ बजेदेखि युद्ध बिराम सम्झौता भएको थियो। 
 

प्रकाशित मिति: : 2025-05-13 08:23:00

प्रतिकृया दिनुहोस्