एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्।मुख्यमन्त्री भट्टको पार्टी माओवादीकेन्द्रको प्रदेशसभामा १३ सीट मात्र भए पनि नेपाल समूहको १७ मत तानेर विश्वासको मत सिद्ध गरेका हुन्।
मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने कि नदिने भन्नेमा एमाले संसदीय दल विभाजित भएको छ । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १७ जना छन्।
मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत परेको थियो। यस्तै विपक्षमा एमालेको सात र जसपाको दुई गरी नौ मत परेको थियो। कांग्रेसका १२ जना भने मतदानमा सहभागी भएनन्।
मुख्यमन्त्री भट्टलाई माओवादी र एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिएका हुन्। प्रतिपक्षी नेपाली कांग्रेसले भने मत हालेन। कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्था आएमा उनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्ना पक्षका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीलाई विश्वासको मत नदिन निर्देशन दिएका थिए।
५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।
विश्वासकाे मतमा मतदान हुनुभन्दा एक दिनअघि नेपालले प्रचण्डसँग बैठक गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरीत माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रतिबद्धता जनाएका थिए ।
सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो। प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो।
Aa