तपाईंको अधिकार हनन् त भएको छैन?

जानकी पाठक

स्याङ्जा

अधिकार भनेको व्यक्ति वा समुदायको त्यस्तो आवश्यकता र चाहना हो, जुन कानूनमा उल्लेख गरिएको हुन्छ।

अधिकारभित्र धेरै पक्ष हुने गर्छन्। जसमा धेरै अधिकारहरु समावेश छन्- जस्तै मानव आधिकार, प्रत्येक मानिसमा जाति, भाषा, धर्म, लिंग, अपाङ्ग, राष्ट्रियता तथा सामाजिक र आर्थिक, राष्ट्रिय सीमाना आदिको भेदभाव बिनाको व्यवहार आदी।

मानव अधिकार भनेको के हो त? सम्पूर्ण मानव समुदायको हरेक सदस्यमा निहीत अधिकारलाई मानव अधिकार भनिन्छ। जुन व्यापक अभिव्यक्ति हो।

संयुक्त राष्ट्र संघको साधारण सभाले सन् १९४८ डिसेम्बर १० मा मानव अधिकार विश्वव्यापी घोषणा पत्र अनुमोदन गरेदेखि नेपालमा पनि विभिन्न नारा र कार्यक्रमका साथ मनाउँदै आइएकाे छ।

यसको सुरुवात इलेनोर रुज्वेल्टले गरेकी हुन्। मानव अधिकार अन्तर्राष्ट्रिय कानूनअन्तर्गत पर्छ भने मौलिक अधिकार राष्ट्रिय कानून अन्तर्गत पर्ने गर्दछ।
      
नेपालको संविधान २०७२ ले धेरै अधिकारहरु दिएकाे छ। जसमा मौलिक अधिकारलाई ३२ वटा धारामा उल्लेख गरिएकाे छ। नेपालमा मौलिक आधिकारको व्यवस्था धारा भाग तीनमा उल्लेखित छन् तर पनि अझै संविधानको पानामा मात्र सीमित रहेको हामी महसुस गर्न सक्छाैं।

धारा १६ मा: सम्मानपूर्वक बाँच्न पाउने हक- अझैपनि अस्पतालमा गर्वपतनको दर कम नभएको।

१७: स्वतन्त्रताको हक-कानूनको सुरक्षामा खटिएका नागरिकको नै जीवन सुरक्षित नभएको।

१८: समानताको हक- कोरोनाको समयमा पनि गरिबीले मृत्युको बाटो लिनु परेको, अस्पतालमा हुँदा खानेभन्दा हुनेखानेले बढी प्राथमकता पाउनु।

२९: शोषणविरुद्धको हक- संविधानमा उल्लेखित भएको वर्षौवर्ष हुँदा पनि अझै बेचबिखनको दर कम नभई झन् दिनदिनै शोषणको समाचारबाट दिनको सुरुवात गर्न परेको।

३०: स्वच्छ वातावरणको हक-नेपालको राजधानीनै प्रदुषित सहरको रूपमा विश्वको सूचीमा अग्र पंक्तिमा आउनु।

३१: शिक्षासम्बन्धी हक-कोरोनाको महामारीले शिक्षा क्षेत्रलाई दिन बढ्दै गए पनि जहाँको त्यही अड्काउनु, नेपालमा प्रशस्त मात्रामा अनलाइन प्रणाली सम्भव गराउन नसक्नु।

३३: रोजगारीको हक-  कोरोना विश्वव्यापी रुपमा फैलिए पनि सबैभन्दा बढी असर नेपालको गरीबीलाई सिधै चापेटोमा पर्न बाध्य हुनु। रहर परिवार सँगै बसेर रमाएर काम गर्नु भए पनि रोजगारको सुविधामा 'हाम्रो मान्छे राम्रो मान्छे'भन्ने भावनाको सृजना बढी हुनु।

देशको कूल जनसंख्यामा अधिक संख्या नेपालमा भन्दा विदेशमा पलायन हुनुपर्ने बाध्यताका साथै अहिलेका देशको मेरुदण्ड युवालाई कर्णधारको रुपमा सम्मान गरेर विदेशमा जाने सपना दिनहुँ बाँड्दै जानु।

३५: स्वास्थसम्बन्धी हक- प्रत्येक नागिकलाई राज्यबाट आधरभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त हुने हक भएता पनि नेपाली अक्सिजनको अभावमा मृत्युदरको संख्यामा समावेश हुन बाध्य भएको।

कसको आधिकार, के आधिकार र कसको दायित्व भन्ने प्रश्नको स्पष्ट उत्तर बोकेको हुन जरुरी हुन्छ। कानूनमा उल्लेखित गरिएको आधिकार हुँदा व्यक्तिलाई स्वतन्त्र ढंगले उपभोग गर्न दिनु अर्को पक्षको कर्तव्य हुन्छ।

एकलबाट सम्भव नहुने काममा सामूहिक प्रयत्नको जोड लाग्ने भएकाले नेपाललाई पनि अहिले सम्पूर्ण युवाहरुको सहयोगको खाँचो परेको छ। मानव अधिकार सम्बन्धी धेरै आयोगहरु, कार्यक्रमहरू विभिन्न नाराहरुका साथ संचालन हुने गर्छन् तर अहिले नारामा होइन व्यवहारमा उतार्नु पर्ने समय आएको छ।

नेपालमा अधिकारहरु पानामा मात्र सीमित हुनुका कारणहरु:

१. संविधान बन्ने समयमा बन्द हडताल गरेर भए पनि कानूनमा पेश गरिनु तर पछि त्यसलाई प्रयोगमा ल्याउन कसैको ध्यान नजानु।

२. नेपालको सरकार स्थिर हुन नसक्नु। सरकारले देशको देशभक्तिभन्दा सत्तामा बढी ध्यान दिनु।

३. सरकार सत्तामा र जनता भत्तामा बढी आश्रित हुँदा नागरिकको मान, मर्यादा स्वाभिमानमा नेपालीको परिचयमा नै भ्रष्टाचारले स्थान ओगट्नु।

४. मानव अधिकार, मौलिक अधिकारबारे धेरै आयोगहरु संस्थाहरु, राष्ट्रिय-अन्तर्राष्ट्रिय कदमहरूको उदय त हुनु तर त्यसलाई लागू गर्न नसक्नु। सरकारको कमजोरी र त्यसमा आवाज उडाउन एकजुट हुन नसक्नु नेपालीको कमजोरी।

५. गुणस्तरीय शिक्षाको अनुभूति अझै पनि सबैमा हुन नसक्नु।पीडितहरुमा सधैं ठूलाबडाको त्रास भइरख्नु।

यस्ता समस्याहरु धेरै छन्। नागरिक भएर पनि नागरिकको अधिकार पनि पाउन नसक्नु। हामी सबैले आफ्नो अधिकार लिदा अरुको सम्मान गरेर नै सुरुवात गर्न सक्छौं।

जसरी थोपा-थोपा मिलेर खोला बन्छ त्यसरी नै हामीले हाम्रो नेपाललाई आफैले 'सानो देश, समृद्ध र एकताको देश' भनेर विश्व भरी चिनाउन सक्ने क्षमता हामी स्वयम् नेपालीको काधमा रहेकाे छ।

आधिकार संरक्षणमा नागरिकको भूमिका:

१. सर्वप्रथम त नेपाली नागरिकले आफू नेपाली नागरिक भएको र नेपाली नै पहिलो परिचय हो भन्ने सोचको विकास गर्नु पर्छ।

२. आफ्नो अधिकारको लागि लड्न सक्ने भई अधिकारको उपयोग, अरूको अधिकारको सम्मान र दायित्वमा तल्लिन हुन सक्नु पर्छ।

३. अधिकार कानून अगाडि सबैमा समान हुने हुँदा सबैमा समानताको भावना र एकताको शक्तिमा भरोसा राखाैं।

४. संविधान नागरिककै पहलबाट नागरिककै लागि बनेको हो। तसर्थ नागरिकको सामूहिक पहलमा नजरअंदाज नगरी सबै मिलेर आवाज उठाउने कोशिस गरौं।

५. सरकार नागरिकको सम्मेलनले बनेको र सरकार नागरिकको निम्ति माथि भएका कारण सरकारलाई दोस मात्र राख्नुभन्दा सबै नागरिक एक जुट भएर एकमत रहन सकिएमा पनि नेपालको विकास सम्भव छ र सबै समस्याको समाधान पनि हुन्छ।

६. अहिलेको समय सबैको लागि कठिन भइरहेको छ। सबै छटपटिरहेका छौं। यो समयमा सरकारले ध्यान बढी समय संसदमा भन्दा नागरिकको स्वास्थ्यमा दिनु पर्ने हो। तर पनि सरकारका बस्नेहरु आफ्नै कुर्सीका लागि लडिरहेका छन्। त्यसकाे चपेटामा परेका छौ। हामी आम नागरिक जसले उनीहरूलाई सत्तामा पुर्‍याएका थियौं!

सरकार जति नै बलियो र स्थिर भए पनि देशमा शान्ति हुन, सकारात्मक विकासको घाम झुल्किन नागरिकनै  अनेकतामा एकता भन्ने भावनाको विकास गर्न सक्नु पर्छ।

आफ्नो अधिकारको उपयोग गरौं। अरूको सम्मान गरौं। देश विकासको बाटोमा आफैं लम्किनछ। सरकार लाई झकझाकाउन सबै नागरिक एकजुट बनाैं। अनि हेरौं सरकारको सत्ताको शक्ति के मा समर्पित रहेछ?

अन्तत: आजको आवश्यकता र समयको माग अनुसार विश्वासको कदम आगाडि बढाउँने कोशिस गरेमा हालको कोरोना महामारी बाट पनि सजिलै उम्किन सकिन्छ। सबैको अधिकारको संरक्षण र सम्बर्द्धन पनि साथसाथै हुनेछ।

प्रकाशित मिति: : 2021-06-12 21:13:00

प्रतिकृया दिनुहोस्