कोरोनाले थलिदै गर्दा प्राकृतिक विपद्को तयारी कति ?

विजय बस्नेत

काठमाडौं

अहिले देश कोरोना महामारीसँग लडिरहेको छ। यो महामारी कहिले अन्त्य हुन्छ टुङ्गो छैन्। यहि महामारीका बिच नेपालमा यस वर्षको मनसुन आइसकेको छ। प्रत्येक वर्ष झै यसपाली पनि प्राकृतिक विपद्को तयारी कति भन्ने प्रश्नहरु उठिरहेका छन्।

देशमा अहिले कोरोना महामारीको लकडाउन जारी छ। सबैको दैनिकीमा प्रभाव परिरहेको छ। सबै कोरोनाको अन्त्य गर्नतिर अग्रसर देखिएका छन्। कार्ययोजना पनि अहिले कोरोनाकै बढि छन्। गहन अध्ययनले भन्ने हो भने अहिले देश कोरोना महामारीले थलिएको छ। विकास तथा अन्य पूर्वाधारका क्रियाकलापहरु रोकिएका छन्। कोरोनाकै कारण देश विभिन्न समस्याहरुसंग जुध्दै आएको छ। प्रत्येक वर्ष प्राकृतिक विपद् मच्चाउने मनसुन पनि आइसकेको छ। मौसम विद्हरुले यसपाली मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढि वर्षा हुने तथ्याङ्क निकालेका छन्।

प्रत्येक ३० वर्षलाई अध्ययन गरेर मौसमको औषत अवस्था निकालिन्छ। सनं. १९९० देखि १९२० सम्मको मौसम आँकडा हेरेर नेपालमा मनसुन सुरु हुने औसत मिति निकालिएको थियो। जतिबेला जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने औसत मिति थियो। अहिले उक्त औसत मिति फेरिएको छ। अहिले जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिने औसत मिति निर्धारण गरिएको छ।

गतवर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टुबर १२ मा बाहिरिएको थियो। यसवर्ष औसत मिति भन्दा दुई दिन अगाडी अर्थात जेठ २८ गते शुक्रबार नै मनसुनको आगमन भएको छ। अत्याधिक वर्षाले बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक जोखिम निम्त्याउने गर्दछ। त्यसैले यस्ता जोखिमको क्षतिबाट जोगिन पूर्ब तयारी गरि सर्तकता अपनाउनु पर्ने मौसमविद्हरु बताउँछन्।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ साल बैशाख १ देखि २०७७ चैत ३१ सम्मका अवधिमा पहिरोबाट १२ सय ५ जनाले ज्यान गुमाएका छन्। यस्तै २९७ जना वेपत्ता भएको तथ्याङ्क सार्वजनिक छ। यसवर्ष ५१ बढि जिल्ला जोखिममा देखिएका छन्। यस वर्षको मनसुन शुक्रबार नेपाल भित्रियको छ। यो मनसुन सोमबार बेलुकासम्ममा देशभर फैलने र वर्षा गराउने छ।

प्राकृतिक विपद् यही ठाउँमा हुन्छ भन्ने पुर्वानुमान गर्न सकिदैन। तर जोखिम सम्भावित क्षेत्रमा सचेतना अपनाए क्षति कम हुन्छ। यसवर्ष सरकारले तयार पारेको सम्भावित सुचि अनुसार २३ जिल्लाका १६ लाख बढि बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बढि बासिन्दा पहिरोबाट प्रभावित हुने अनुमान गरिएको छ। तर मनसुन शुरु भएपनि सम्भावित जोखिम रोक्न पूर्व तयारी एकदमै फितलो रहेको छ। साथै सकसपुर्ण पनि। प्रत्येक वर्ष सरकारले क्षति भएपछि मात्र कार्य शुरु गर्ने र्गछ। क्षति भएपछि झिनो राहत लिएर दुखेको घाउ निको पारेको बाहाना मात्र बनाउने गर्छ सरकारले प्रत्येक वर्ष। 

यसवर्ष पनि सरकार सम्भावित क्षति कुरेर बसेको देखिन्छ। प्राकृतिक विपद् जोखिमको तथ्याङ्क निकाले पनि सम्भावित जोखिम भएको ठाउँमा कुनै कार्यक्रम सरकारले शुरु गरेको छैन्।  त्यसैले आ–आफ्नो ठाउँमा आफै सचेत बन्न जरुरी देखिन्छ। बेला बेलामा मौसमका परिवर्तन आकलन गरेर सचेत हुनुपर्छ।

प्रकाशित मिति: : 2021-06-13 15:18:00

प्रतिकृया दिनुहोस्