‘अध्यक्षज्यू, म बिरामी भएँ’

अन्नपूर्ण पोष्ट

पवन पौडेल (दमौली)

 बिहानको पाँच नबज्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाको फोन बज्यो। नचिनेको नम्बर भए पनि उनले बिहानै आएको त्यो फोन उठाइहाले। कोरोनाको लक्षण देखिएकाले परीक्षणका लागि अस्पताल ल्याउनुपर्ने बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स  तयार नभएपछि उनलाई फोन गरिएको रहेछ। 

यो पोहोर सालको घटना थियो, जतिखेर कोरोना संक्रमण भर्खर फैलँदो अवस्थामा थियो। ‘बिरामीलाई घरमा राख्नु पनि भएन। फेरि त्योबेला होम आइसोलेसनको व्यवस्था पनि थिएन,’ थापा त्यो दिन सम्झन्छन्, ‘अब बिरामीलाई त्यत्तिकै छाड्ने कुरा पनि भएन। अनि आफैं गाडी लिएर बिरामी ल्याएँ।’

थापाले गाउँपालिकाको सवारी चलाउँदा अरू डराउने ठान्दै आफ्नै निजी सवारीमा बिरामीलाई अस्पताल लगे।

यो त एउटा घटना मात्र थियो। गाउँपालिका अध्यक्ष थापासँग कोरोना संक्रमण सुरु हुन थालेदेखि यसरी बिरामी बोकेका कैयौं उदाहरण सम्झनामा छन्। केही दिनअघि पनि त्यस्तै भयो। ‘गाउँपालिकाको एम्बुलेन्स स्वाब बोकेर पोखरा गएको थियो,’ उनले भने, ‘एक संक्रमितलाई गाह्रो भएकाले अस्पताल लैजानुपर्ने खबर आयो। धेरैतिर फोन गर्दा पनि एम्बुलेन्स नपाएपछि आफैं गाडी लिएर पुगें।’ उनले आफ्नै निजी साधनमा बिरामीलाई बन्दीपुर अस्पतालको कोभिड वार्डमा पुर्‍याए।

आफैं जाँच्छन् बिरामी
नेपालमा आफैं बिरामी जाँच्ने जनप्रतिनिधि कमै होलान्। थापा भने धेरैजसो बिरामीको जाँच आफैं गर्छन्। ‘अहिलेसम्म तीन सयभन्दा बढी बिरामीको जाँच गरे हुँला,’ उनी भन्छन्, ‘अहिले पनि दिनहुँ त्यस्ता बिरामी जाँच्नुपर्छ।’

गाउँपालिका अध्यक्ष हुनुअघि थापा बन्दीपुर क्षेत्रका चर्चित स्वास्थ्य व्यवसायी थिए। उनको स्वामित्वमा रहेको मोती पोलिक्लिनिक धेरै बिरामी पुग्नेमा पर्छ। अहेबसम्मको अध्ययन गरेका उनले गाउँपालिकाको कामका बेला पनि बिरामी जाँची दिने गर्छन्। अझ तिनमा संक्रमित वा संक्रमणको आशंका भएका बढी पर्छन्। ‘बिहान निजी क्लिनिकमा त व्यवसाय नै भयो,’ उनी भन्छन्, ‘गाउँपालिकाको काममा जाँदा पनि धेरैको जाँच गर्नुपर्छ।’

स्वास्थ्य व्यवसायीको उनको पहिचान त छँदै थियो, गाउँपालिका अध्यक्ष पनि भएकाले बिरामीले पनि उनकै विश्वास गर्छन्। ‘शायद यो मैले आर्जन गरेको सम्पत्ति हो,’ थापा भन्छन्, ‘डाक्टर लिएर जाँदा पनि मैतिर बिरामी अघि सरेपछि नजाँची धरै भएन।’

थापाबाटै आइसोलेसनमा उपचार लिइरहेका एक संक्रमित सहजताका हिसाबले पनि अध्यक्षबाट उपचार लिएको बताउँछन्। ‘डाक्टरहरू जाँच्न पनि डराउँछन्,’ उनले भने, ‘तर अध्यक्षले धक नमानी जाँची दिँदा हामीलाई धेरै बिरामी निको भएको जस्तो हुन्छ।’

प्रकाशित मिति: : 2021-06-14 07:07:00

प्रतिकृया दिनुहोस्