१६ डाक्टर र २४ नर्स जसले कोरोना संक्रमितको उपचार गर्दागर्दै आफ्नै ज्यान गुमाए !

लोकान्तर

काठमाडाैं

गत जेठ २० गते युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत चिकित्सक ३५ वर्षीय पशुपति रजौरियाको मृत्यु भयो ।

कोरोना संक्रमण भएका बिरामीलाई एचडीयू कक्षमा उपचार गर्ने डा. रजौरिया बिरामीलाई उपचार गर्दागर्दै अस्पतालको सोही कक्षमा आफैँ भर्ना भए ।

एक महिनाअगाडि अर्थात वैशाख २० गते कोरोना संक्रमण भएका डा. रजौरियालाई भैरहवा उपचार गर्न नसकेपछि अघिल्लो दिन हेलिप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।

केही महिनाअघि मात्र विवाह गरेका रजौरियाकी पत्नी डा. हसिना वानु पनि उनीसँगै संक्रमित भएकी थिइन् । उनी भने निको भइन् ।

अघिल्लो वर्ष असोज १५ गते कोरोना संक्रमितकै उपचारको क्रममा संक्रमित भएर सुर्खेत अस्पतालका सिनियर अर्थोसर्जन डा. हरि सापकोटाको भेरी अस्पतालमा निधन भयो ।

डा. सापकोटालाई संक्रमण पश्चात १० दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने पहिलो डाक्टर थिए ।

कोरोना संक्रमण भएका बिरामीको उपचार गर्दागर्दै अहिलेसम्म ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। 

प्रकाशित मिति: : 2021-06-18 12:03:00

प्रतिकृया दिनुहोस्