प्रदेश राजधानी बनेको ९ महिनापछि दाङमा बुटवलबाट आइपुग्यो एउटा मन्त्रालय

लुम्बिनीको ग्रामीण तथा सहरी विकास मन्त्रालयको कार्यालय  प्रदेशको स्थायी राजधानी दाङमा स्थापना भएको महिना दिन पुग्नै लागेको छ।

जेठमै उक्त मन्त्रालय राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना भएको थियो।

प्रदेशको स्थायी राजधानी घोषणा भएको ९ महिना बित्दा दाङमा आएको यही एउटा मन्त्रालय हो। उक्त मन्त्रालयबाट काम भने अझै हुन सकेको छैन।

महिना दिनअगाडि मन्त्री नियुक्त भएपछि ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले दाङमा स्थापना भएको मन्त्रालयमै पदभार ग्रहण गरेका थिए।

मन्त्रालयका कर्मचारीहरू बुधबार आफ्नो मन्त्रालय र कार्यालयको अवस्था अनुगमन गरी फर्किएका छन्। मन्त्रालयका लागि आवश्यक फर्निचरलगायतका केही सामग्री अझै जोहो भइसकेको छैन।

पहिले कोरोनाभाइरसको महामारी र अहिलेको लगातारको झरीले मन्त्रालय व्यवस्थापन गर्न समस्या भएको सरोकारवालाहरूले बताएका छन्। 

लुम्बिनी प्रदेश राजधानी व्यवस्थापन कार्यालयका प्रमुख रामप्रसाद ज्ञवालीले ढिलोमा असार मसान्तसम्म वा साउन पहिलो हप्तादेखि मन्त्रालयको कामकाज स्थायी राजधानी राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयबाटै सुरू हुने आशा गरे।

प्रकाशित मिति: : 2021-06-18 16:26:00

प्रतिकृया दिनुहोस्