वाग्मती सफाइ महाअभियान ४२३औँ हप्तामा

File photo
File photo

पशुपति र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ। 

वाग्मती सफाइ महाअभियानको ४२३औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा भएको सफाइमा छ अभियानकर्मीले सफाइ गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए। 

पशुपति क्षेत्रको सफाइमा अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, अभियानकर्मी केशवप्रसाद पुडासैनी, चक्रबहादुर चन्द, दुर्गा रावल र समितिका सञ्चालक सदस्य खरेलको सक्रियता थियो। 

शवदाहका दाउरा र बाँस पशुपति क्षेत्रको वाग्मती किनारमा

पशुपति क्षेत्रमा कोरोनाबाट निधन भएका लगायतको दाहसंस्कार गर्ने क्रम निरन्तर चलेकाले त्यस क्षेत्रको सफाइ अभियानलाई पनि निषेधाज्ञाका बाबजुद निरन्तरता दिइएको सफाइ महाअभियानले जनाएको छ। पशुपति क्षेत्रमा शव जलाएपछिका दाउरा र बाँस पनि घाट क्षेत्रमा फालेको पाइएको सफाइ अभियानकर्मीले जनाएका छन्। 

पशुपति क्षेत्रमा पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर मात्र सफा देखिने गरेको अभियानकर्मीको गुनासो छ। कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले सफाइ कर्मचारी बिरामी परेकाले सफाइमा प्रभाव परेको जानकारी दिएको अभियानकर्मी खरेलले सुनाए। 

यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ। सफाइमा त्यस क्षेत्रका टोल सुधार समिति र अभियानकर्मीको सक्रियता थियो। विष्णुमती सफाइ अभियानको ३५५औँ हप्तामा टोखा नगरपालिका–९ मनमैँजु पुलबाट शिवमन्दिरसम्म वृक्षरोपण गरिएको छ।

रिठो, पैँयुलगायत जातका ४० बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए। यस स्थानमा गत वर्ष पनि बिरुवा रोपिएकामा केही निर्दयीले उखेलेर फालेकाले पुनः रोप्नु परेको उनले बताए। 

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका निर्देशक डिलाराम सुवेदी, सफाइ अभियानकर्मी चक्रबहादुर चन्दलगायत त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिको सक्रियता थियो। 

यसैगरी काठमाडौँ उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ अभियानलाई निरन्तरता दिइएको छ।

कोरोनाबाट बच्न सफाइ एवं भौतिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपचार हो भन्ने चेतना जगाएर धेरै स्थानमा सफाइ अभियानले जागरण फैल्याएको जनाइएको छ। निषेधाज्ञाका कारण सफाइ अभियानका लागि नदी किनारमा जान नसकेका अभियानकर्मीले यस्तो जागरण फैल्याउन सहयोग गरेका हुन्। 

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ। काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीझँै चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ। 

यसैगरी उपत्यकाबाहिर मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ। 

वाग्मती सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ। जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ।  

‘हप्तामा दुई घण्टा देश सेवाका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मी नदी किनारमा उत्रने गरेका छन्। नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला भने नदी किनार नजीकै निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएका छन्। अन्य अभियानकर्मीले भने घर टोलअघिको सफाइलाई निरन्तरता दिएको महाअभियानले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-19 15:11:00

प्रतिकृया दिनुहोस्