डोल्पामा खिचियो 'टुल्की'

प्रथाको नाममा एक चेलीमाथि भएको सामुहिक बलात्कारको दुखान्त कथा

डोल्पामा बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र 'टुल्की'को छायाङ्कन गरिएको छ।

द पाल्म ग्रुप प्रा.लीद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको हो।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङ्लगायतका हिमाली जिल्लाहरुमा कूप्रथाको रुपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई 'टुल्की'मार्फत देखाइएको निर्माता शेखर लामाले जानकारी दिए।

“नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारीत कुनै पनि चलचित्र बनेको छैन्, टुल्की पहिलो चलचित्र हो। निकै जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरें”, निर्माता लामाले भने।

“बहुपति प्रथामा घरका कुनै एक भाईले विहे गरेपछि अन्य दाजुभाईले विहे गर्नु पर्दैन। जुन भाईले पहिला विहे गरे तीनै भाईकी श्रीमतीसँग सबैले सामुहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ”, लामाले थपे।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नु परेको सामुहिक बलात्कारको दुखान्त कथावस्तुलाई उजागर गरिएको लामाको भनाई छ।

चलचित्रमा बहुपति प्रथा मात्र सिमित नभई पश्चिम नेपालमा कूप्रथाको रुपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाई छ।

त्यति मात्र नभई चलचित्रले प्रचुर पर्यटकिय सम्भावना बोकेर पनि ओझेलमा परेको डोल्पालाई विश्वमाझ चिनाएर पर्यटन प्रर्वद्धनमा समेत सघाउने बताइएको छ।

छायाङ्कन गर्नका लागि मात्रै तीन महिना समय लाग्नुका साथै चलचित्र तयारी हुँदासम्म करिब एक करोड खर्च अनुमान गरिएको अर्का निर्माता आर.पी कर्माचार्यले बताए।

निर्माता कर्माचार्यले अहिलेसम्म बनाइएका अन्य चलचित्रभन्दा फरक प्रकृतिको चलचित्र भएको बताउँदै अबको दुई महिनामा नै चलचित्रकाे निर्माण कार्य सम्पन्न हुने जानकारी दिए।

चलचित्र छायाङ्कन शुसील अधिकारीले गरेका छन् भने निर्देशन देवजंग थापाले गरेका हुन्।

चलचित्रमा प्रोडक्सन म्यानेजर भएर कलाकार लक्ष्मण देवकोटाले काम गरेका छन्।

चलचित्रमा वरिष्ठ कलाकार शिसिर वाङ्देल, सोम लामा, स्वस्तीमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ्, सोफिया लिम्बु, दिर्घ लामा, महेश लिम्बु,रत्नप्रसाद न्यौपाने, भक्त सिँह कठायत लगायतको कलाकारहरुको अभिनय रहेको छ।

प्रकाशित मिति: : 2021-06-23 12:47:00

प्रतिकृया दिनुहोस्