कोरोना खोप नलगाएकाले खाडी मुलुक जान चर्को रकम तिर्नुपर्ने!

सेतोपाटी

काठमाडाैं

आइतबार वैदेशिक रोजगार काठमाडौं कार्यालय, ताहाचल पुग्दा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिन हातमा कागजात बोकेर थुप्रै युवा उभिइरहेका थिए। त्यही भिडमा साउदी जाने तरखरमा रहेका गोरखाका हुमबहादुर भुजेल भेटिए।

बिदामा फर्किएका हुमबहादुर पुनः श्रम स्वीकृति लिएर साउदी जान लागेका हुन्। तर कोरोना खोप लाउन नपाएका कारण चर्को रकम बुझाएर जानुपर्ने बाध्यता भएको उनले बताए। 

'टिकटका लागि ७५ हजार र होटल क्वारेन्टाइनका लागि ८३ हजार चार सय ८५ रूपैयाँ बुझाउनुपर्ने भयो,' उनले भने, 'दुई पटक खोप लगाउन पाएको भए यत्रो रकम तिर्नुपर्दैन थियो रे। खोप नलगाएकाले होटल क्वारेन्टाइनको समेत जोडेर एयरलाइन्सले एक लाख ५८ हजारभन्दा बढी रकम लियो।' 

खोप नलाएकाले साउदीमा १४ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने भन्दै एयरलाइन्सहरूले प्रतिव्यक्ति ८३ हजार चार सय ८५ रूपैयाँ लिने गरेको उनले बताए। 

ड्राइभिङ कामका लागि साउदी जान लागेका हुमबहादुरको कमाइ मासिक २२ सय रियाल छ। तर खाने बस्ने लगायत खर्च कटाउँदा बचत गर्न मुश्किल हुने उनी बताउँछन्। 

'पैसा कमाउन कति गाह्रो छ। सरकारले खोप व्यवस्था नगर्दा हामीले चर्को रकम तिर्नुपर्‍यो,' उनी भन्छन्, 'खोप पाएको भए सिधै कम्पनीमै जान पाइन्थ्यो।'

कोभिडका कारण लामो समय यतै अड्किएका उनलाई जोखिम कम हुँदै गएपछि कम्पनीले बोलाएको रहेछ।

प्रकाशित मिति: : 2021-06-28 17:00:00

प्रतिकृया दिनुहोस्