उत्पादनमुखी याेजनामा ध्यान दिइनेछ: मन्त्री श्रेष्ठ 

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जामन्त्री दिनबन्धु श्रेष्ठले वितरणमुखी भन्दा उत्पादनमुखी याेजना निर्माणमा ध्यान दिइने बताएका छन्।

वर्षाले कटान गरेकाे जमिन तथा जनताकाे आवश्यकताबारे बुझ्न गृहजिल्ला पुगेका मन्त्री श्रेष्ठले पत्रकार भेटघाटकाे क्रममा यस्ताे बताएका हुन्।

'वितरणमुखी याेजनामा लगानी गर्दा तत्काल केही नागरिकलाई लाभ हुने देखिए पनि दिर्घकालीन लाभ लिन सकिँदैन,' उनले भने, 'उत्पादनमुखी याेजनाले समग्र कर्णाली प्रदेशकै स्तर उकास्न सकिन्छ।'

कर्णालीका समग्र जनताले लाभ पाउने गरी लाेकप्रिय कार्यक्रम भन्दा पनि याेजनाका प्रभावकारी कार्यान्वयनमा जाेड दिने मन्त्री श्रेष्ठकाे भनाइ छ। उनले भने, 'प्राथमिकताकाे आधार निर्धारण गर्दा जनताका आवश्यकतालाई सम्बाेधन गर्न जरुरी ठानेकाे छु।'

कर्णाली जलस्रोतकाे भण्डार भएकाले केही ठुला आयाेजनामा लगानी गरिने उनले थपे। 'म मन्त्री भए लगत्तै भेरी बबई डाइभर्सन अनुगमन गर्न गएकाे थिए। त्यहाँ आठ मेघावाट विद्युत निकाल्न सकिनेबारे छलफल भइरहेको छ,' उनले भने, 'तिला र जवा नदीकाे बीच सेन्टर नाग्ममा दसदेखि बीस मेघावाटकाे विजुलीकाे लागि सम्भाव्यता अध्ययनकाे लागि बजेट छुट्याइ कार्यान्वयनमा जाेड दिनेछु।'

उनले कर्णालीका दस जिल्लाका दसवटा विकट बस्तीमा वैकल्पिक उर्जाका माध्यमले 'बस्ती उज्यालाे कार्यक्रम'का बजेट लगानी गरिएकाे बताए।

'कर्णालीका १० वटा जिल्लाका १० वटा बस्तीका ८० देखि सय घरधुरीलाई उज्यालाे बनाउने याेजना बनाइ बजेट विनियाेजन भइसकेकाे छ। बत्तीकाे पहुँच नभएकाे बस्ती छनाेट कार्य चाँडै सुरु हुनेछ,' उनले भने।

साथै याेजना निर्माण गर्दा प्राथमिकताका आधारमा विना पक्षपात दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने उनकाे जाेड छ।

प्रकाशित मिति: : 2021-06-30 12:43:00

प्रतिकृया दिनुहोस्