घरकाले व्यापार गर भन्थे, उनले खोलिन् फुच्चे पुस्तकालय

सेतोपाटी

ललितपुर

सबिना श्रेष्ठ

 

पाटन ढोकाबाट दरबार स्क्वायर जाने गल्लीमा अब पुस्तकालय थपिएको छ।

पहिलो घुम्तीबाट चार घर पर बाँयापट्टि तपाईं 'मिनी लाइब्रेरी' अर्थात् फुच्चे पुस्तकालय लेखिएको बोर्ड देख्न सक्नुहुन्छ। त्यही नै हो करिब छ महिनाअघि खुलेको पुस्तकालय 'बुक्स इन'। 

सानो ठाउँ अनि थोरै किताबबाट पनि पढ्ने वातावरण बनाउन सकिन्छ भन्ने उदाहरण हो यो पुस्तकालय। यसकी संस्थापक हुन् ३१ वर्षीया नसला महर्जन।

करिब दस वर्षदेखि शिक्षण पेसामा आबद्ध छिन् उनी। पढाउनेक्रममा नै पुस्तकालयको आइडिया फुरेको बताउने उनी भन्छिन्, 'मैले विभिन्न स्कुलमा पढाएँ। जेम्स स्कुल पुगेपछि भने भव्य पुस्तकालय देखेँ। पुस्तकालयले विद्यार्थीमा पारेको प्रभावले मलाई निकै प्रभावित गर्‍यो। आफ्नो समुदायमा पनि पुस्तकालय खोल्न पाए हुन्थ्यो भन्ने त्यहीँबाट लागेको हो।'

दस वर्षको अन्तरालमा उनले पढाएका यसअघिका कतिपय स्कुलमा पुस्तकालय थिएन। भएकामा पनि राम्रा किताब हुन्थेनन्। कति भने शिक्षक वा प्रधानाध्यापकको कोठामा मात्र सीमित थिए। त्यहाँ जे-जति किताब भेटिन्थे, नसला पढ्थिन्। जेम्समा पढाउन थालेपछि उनले किताबको भव्य संसार देखिन्। 

दुई वर्षअघि स्कुलले 'इन्सेन्टिभ रिडिङ' भनेर विद्यार्थीलाई किताब पढ्नै पर्ने वातावरण बनाएको थियो। त्यसबाट विद्यार्थीको ज्ञान त बढ्यो नै, उनीहरूमा किताब पढ्ने बानी पनि बस्यो।

प्रकाशित मिति: : 2021-07-01 21:58:00

प्रतिकृया दिनुहोस्