दिपक श्रेष्ठ
बारपाक बाह्रकिलो सडकखण्ड अन्तर्गत बालुवास्थित दरौदीको पक्की पुल बाढीले क्षति पुर्याएको छ।
गत तीनदिनदेखि परेको अविरल वर्षाका कारण दरौदी नदीमा आएको बाढीले अजिरकोट गाउँपालिका वडा नम्बर ४ स्थित सो पुल क्षति भएको हो।
बाढीले पुलको बालुवा तर्फको भागमा करिब ३० मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
सडक नदीले कटान गरेपछि पुल सडकको भागबाट नै छुट्टिएको उनले जानकारी दिए। बाढीले पुलमा क्षति पुर्याएपछि बाह्रकिलो बारपाक सडकखण्ड अहिले पूर्ण रुपमा अवरुद्ध छ।
उक्त सडक खण्ड अन्तर्गत पर्ने नै बालुवादेखि बारपाक क्षेत्रमा पनि सडक भासिएको उनले जानकारी दिए। बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २, स्थित मान्द्रे भन्ने ठाउँमा सडक करिब ५० मी तलसम्म भासिएको बताइएको छ।
बाह्रकिलो बारपाक सडक खण्डमा पूर्ण रुपमा यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ। बारपाक पुग्ने एक मात्र सडक अबरुद्ध भएपछि अहिले आवत जावतमा समस्या भएको छ।
बाढी र पहिरोले अबरुद्ध भएको उक्त सडक तत्कालै सञ्चालनमा ल्याउन सक्ने अबस्था नरहेको प्रमुख जिल्ला अधिकारी शलिकग्राम शर्मा पौडेलले जानकारी दिए। रासस