गाजापट्टी कब्जा गर्दै इजरायल, चार दिनदेखि निरन्तर आक्रमण (भिडिओसहित)

इजरायलले गाजापट्टीमाथि निरन्तर आक्रमण बढाइरहेको छ। हमासले शासन चलाइरहेको गाजापट्टीलाई आफ्नो कब्जामा ल्याउने उद्देश्यका साथ इजरायली सेनाले त्यहाँ आक्रमण बढाएको हो। 

इजरायली सेनाले गत बिहीबारदेखि भयानक आक्रमण गरिरहेको छ। शनिबारसम्मका यस्तो आक्रमणमा लगभग २ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। 

इजरायलले हमासविरुद्ध भन्दै अस्पताल र विद्यालयहरूमाथि आक्रमण गरिरहेको छ। गाजापट्टीलाई नियन्त्रणमा लिएरै छोड्ने रणनीतिका साथ इजरायलले कतिपय ठाउँमा आफ्ना सैनिकहरू पनि तैनाथ गरिसकेको छ। 

इजरायली सैनिकले उत्तरी गाजा क्षेत्रमा केही पर्चाहरू पनि फ्याँकेको छ जसमा प्यालेस्टाइनीहरूलाई उक्त क्षेत्र छोड्न भनिएको छ। 

इजरायलको लगतार आक्रमणका कारण त्यहाँ मानवीय संकट चुलिदैं गएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ। हमास विद्रोही र इजरायली सेनाले त्यहाँ मानवीय सहायतालाई पनि प्रतिबन्ध लगाएका छन्। 

जसका कारण लाखौं मानिस भोकमरीले ग्रस्त भएका छन्। शरणार्थी शिविरहरूमा समेत खाद्यान्न अभाव देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

सन् २०२३ को अक्टुबरमा हमासले एकाएक सयौं क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले युद्धको घोषणा गरेको थियो। त्यसयता लगभग ५५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन्। 

त्यो युद्धको सुरुवातमा दश जना नेपाली पनि मारिएका थिए। एकजना बिपिन जोशीलाई हमासले नियन्त्रण लिएको थियो। उनको अवस्थाबारे अहिलेसम्म यकीन तथ्य बाहिर आइसकेको छैन। नेपाल सरकारले उनको रिहाइका लागि कुटनीतिक प्रयास थालिरहेको छ।  
 

प्रकाशित मिति: : 2025-05-17 10:55:00

प्रतिकृया दिनुहोस्