भारतको जयपुर सहरमा चट्याङका कारण ११ जनाको मृत्यु भएको छ।
आइतबार १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिच्ने क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो भने धेरै जना घाइते भएका छन्।
त्यसबेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बीबीसीले जनाएको छ।
सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ।
एक जना वरिष्ठ प्रहरी अधिकारीका अनुसार किल्ला पर्यटकहरू माझ चर्चित छ। उनका अनुसार मृत्यु हुनेमा अधिकांश युवाहरू छन्।
राजस्थानका विभिन्न स्थानमा आइतबार नै चट्याङका कारण थप नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृत्यु हुनेहरूका परिवारलाई क्षतिपूर्ति बापत ५००,००० रूपैया दिने घोषणा गरेका छन्।
भारतको उत्तर प्रदेश राज्यमा पनि चट्याङ लागेर २८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। तीमध्ये १३ जनाको मृत्यु प्रयागराज भनिने स्थानमा भएको बताइएको छ। तीव्र वर्षा हुने भारतको मनसुन सामान्यता जून महिनादेखि सेप्टेम्बर महिनासम्म कायम रहन्छ।
भारतको मौसम सम्बन्धी विषय हेर्ने निकाय इन्डिएन मेटेरोलोजिकल डिपार्टमेन्टले जलवायु सङ्कट लगायतका विषयका कारण सन् १९६० यता भारतमा चट्याङका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या दोबर भएको जनाएको छ।
त्यस्तै १९९० को सुरुवातदेखि मध्यतिरसम्म चट्याङका घटनाहरूमा पनि ३० देखि ४० प्रतिशत वृद्धि भएको बताइएको छ।
सन् २०१८मा भारतको दक्षिणीपूर्वी राज्य आन्ध्र प्रदेशमा मात्र १३ घण्टामा चट्याङका ३६,७४९ घटना रेकर्ड भएको प्रकाशमा आएको छ। अधिकारीहरूका अनुसार त्यस्ता घटनाहरू रूखहरूको सङ्ख्या कम रहेको क्षेत्रमा बढी हुने पाइएको छ।