पहिराबाट ज्यान गुमाउनेको परिवारलाई सङ्घ सरकारको राहत

Symbolic photo
Symbolic photo

पहिराबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ। 

गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार रु चार लाख राहत वितरण गरिएको हो। 

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही रु दुई लाखका दरले राहत रकम वितरण गरेका हुन्। 

सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिले पनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताए।

पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो। यसअघि गण्डकी प्रदेश सरकारले पनि प्रतिमृतक रु ५० हजारका दरले राहत रकम प्रदान गरिसकेको छ। 

पहिरामा मृत्यु भएकाका परिवारलाई जनही रु दुई लाखका दरले राहत वितरण गर्ने प्रावधानअनुरुप ऋषिङका पीडितलाई पनि केही समयपछि राहत उपलब्ध गराइने बताइएको छ। 

गत यही १७ र २४ गतेको पहिरामा पुरिएर बन्दीपुरमा दुई र ऋषिङमा दुई जनाको मृत्यु भएको छ। 

गाउँपालिकाको राहत

यसैगरी ऋषिङ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरेको छ। 

गत असार २४ गते पहिरामा परेर मृत्यु भएका दुई जनाका परिवारलाई गाउँपालिकाले जनही रु ५० हजारका दरले राहत रकम वितरण गरेको हो। 

ऋषिङ–७ निवासी ५२ वर्षीया देवीसरा थापा र ऋषिङ–८ माझकोट निवासी ४० वर्षीय खुमबहादुर आलेको परिवारलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सोमबार राहत रकम हस्तान्तरण गरे।

बाढीपहिराले ऋषिङमा अकल्पनीय क्षति पु¥याएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले पीडितको साथमा स्थानीय सरकार रहेको बताए। 

बाढी पहिराले ऋषिङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। साथै पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् अवरुद्धसमेत भएको छ।

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगमा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्।

प्रहरीले ज्यान मार्ने उद्योगमा कैद र जरिवाना फैसला तोकिएका प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको हो।

पक्राउ पर्नेमा व्यास नगरपालिका–१ स्थायी घर भई हाल व्यास–५ पतेनी बस्ने ४० वर्षीय पपे भन्ने पपेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०६० असार १२ गते आठ वर्ष कैद र रु ५२ हजारको जरिवानाको फैसला सुनाएको थियो।

यसैगरी प्रहरीले अन्य चार फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ। लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय सुशील पोखरेल पक्राउ परेका छन्। 

निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ जेठ २० गते चार दिन कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको थियो। 

लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादीकै सन्जु भन्ने ३४ वर्षीय कृष्णबहादुर धिमाल पनि पक्राउ परेका छन्। 

निजलाई पनि सोही दिन चार दिन कैद र रु एक हजार जरिवाना साथै रु २०० क्षतिपूर्तिको फैसला भएको थियो। लागुऔषध डाइजेपाम समेत मुद्दामा व्यास–१ बस्ने २२ वर्षीय सन्तोष कार्की पक्राउ परेका छन्। 

निजविरुद्ध अदालतले विसं २०७७ फागुन २६ गते दुई महिना २९ दिन कैद र रु १२ हजार जरिवाना साथै रु ८०० क्षतिपूर्तिको फैसला सुनाएको थियो। त्यस्तै लागुऔषध मुद्दामा व्यास–३ शान्तिनगर बस्ने ३७ वर्षीय लक्ष्मण दनुवार पक्राउ परेका छन्। 

निजविरुद्ध अदालतले विसं २०७६ भदौ ३ गते सात दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-07-13 10:50:00

प्रतिकृया दिनुहोस्