पहिलाेपल्ट हुम्ली गोठालाको कथा समेटिएको ठाडी भाकामा आधारित म्युजिक भिडियो बन्दै 

हुम्लाका युवाहरुले पहिलाेपल्ट गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन्।

पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरुले पुर्खाकाे याेगदान सम्झेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन्।

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीय युवाहरुकाे सक्रियतामा म्युजिक भिडियो उत्पादनमा लागिएको हाे।

समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत-सङ्गीत हाबी हुँदा छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएकाले स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायाङ्कन गरिएको निर्देशक पदमराज हमालले बताए।

'जिन्दगी अधुरो बनाई छोडी बाईगई माया बोलको देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरिएको हाे,' निर्देशक हमालले भने, 'गोठालाहरुको दुःख-पीडालाई आधार बनाई माया प्रेम झल्काउने गीतको भाव रहेको छ।'

गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ। म्युजिक भिडियोमा पनि हुम्लाकै स्थानीय कलाकारहरूको अभिनय रहेको बताइएको छ।

म्युजिक भिडियोमा सञ्चारकर्मी नरजन तामाङ, उर्मिला शाही र विष्णु बुमीको अभिनय रहेको छ। जिल्लाकै पत्रकार हमाल, अविनाश लामा र अर्जुन बोहराले गीतको छायाङ्कन गरेका छन्।

प्रकाशित मिति: : 2021-07-14 10:18:00

प्रतिकृया दिनुहोस्