निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले देशभित्र र बाहिरबाट सिर्जित अवरोध र समस्याहरुका बाबजुद पनि ओली सरकारले उल्लेखनीय काम गरेको बताएका छन्।
४० महिनासम्म ओलीको मुख्य सल्लाहकारको भूमिका निभाउन पाउँदा गर्व महशुस भएको भन्दै रिमालले तीन वर्ष पहिलेको देशको तुलनामा अहिले पूर्वाधार, स्वास्थ्य, सुरक्षा, शिक्षालगायत सबै क्षेत्रमा अपेक्षाजनक परिवर्तन भएको बताएका छन्।
आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन्ः
सम्मानित सर्वोच्च अदालतको परमादेशबाट २०७८ असार २९ गते नयाँ सरकारको गठनसँगै सम्माननीय प्रधानमन्त्रीको मूख्य सल्लाहकारको जिम्मेवारीबाट बिदा भएको छु। दोश्रो पटक यस जिम्मेवारीमा १,२३७ दिन अर्थात् ४० महिनाभन्दा बढी काम गर्ने मौका पाएँ।
राजनीतिमा संलग्न म जस्ता, जो कोहीका लागि पनि यो अवसर, शासन प्रणाली तथा सरकार सञ्चालनका कतिपय विषयमा जान्ने, बुझ्ने र गच्छेले भ्याएसम्म योगदान गर्न विरलै प्राप्त हुने क्षण थियो। यस्तो महत्वपूर्ण भूमिकामा मलाई योग्य ठानी मौका दिनु भएकोमा म पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
यो जिम्मेवारी एउटा 'राजनीतिक नियुक्ति' मात्रै नभएर, आफैमा एउटा सार्वजनिक पद थियो। त्यसैले जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त प्रशंसा होस् वा आलोचना दुबैलाई मैले सहज ग्रहण गरें। यद्यपि, वैचारिक वा दलीय आवद्धताका कारणले, कतिपय सन्दर्भमा तथ्यबाट धेरै पर गएर गरिएका अस्वस्थ आक्रमण र अभद्र टिप्पणीले भने मलाई पनि अरुहरुलाई झैं नमिठोसँग घोची रहे।
आफ्नो 'शीरमाथिको आकाश' ओगेट्ने क्रममा नेपाल सरकारका मूख्य सचिवदेखि सचिव तथा समग्र कर्मचारी साथीहरु, सुरक्षा निकाय अनि संबैधानिक अङ्गका जिम्मेवारहरुबाट प्राप्त साथ र समझदारी सदा स्मरणीय रहने छन्। म उहाँहरु सबैलाई धन्यवाद भन्न चाहन्छु।
प्रधानमन्त्री संस्थासँग जोडिएका निजी सचिवालय, स्वकीय सचिवालय र सल्लाहकार तथा विज्ञ समूहको फरक-फरक सीमा र भूमिका हुने विषय स्पष्ट पार्न मैले पटक पटक प्रयास गरें। 'सञ्चार शीप'मा रहेको कमीका कारणले हुनसक्छ, फेरी पनि धेरैभन्दा धेरै पार्टीका साथीहरु, विद्वत् वर्ग तथा आम नेपाली दिदीबहिनी-दाजुभाईहरुले सम्माननीय प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष सम्वाद गर्न, आफ्ना माग तथा गुनासा राख्न मलाई माध्यम बनाउन खोज्नु भयो। तर मेरो सीमाभन्दा बाहिरका परिस्थितिजन्य कारणबाट फेरि पनि कहिं कतै असुविधा पुगेको भए म दुःखी छु।
हामीले पटक पटक 'ढलेको सरकार दामी र वितेका नेता नामी' ठान्ने प्रचलन देख्दै-भोग्दै आएका छौं। हाम्रो नेतृत्वको सरकारले कति काम गर्यो? गरेन? गर्न सक्यो वा सकेन। यी बिषयमा बहस होलान्। विश्लेषण गरिएलान्। यस सन्दर्भमा मेरो यत्ति मात्र भनाई छ, चालिस महिना पहिलेको हाम्रा वरिपरिका परिवेश हेरौं। तपाई-हाम्रा शहर र वस्तीमा भूकम्पले लडाएका संरचना उस्तै छन् या निर्माण भएरु सडक-राजमार्गहरुका हालत उस्तै छन् वा फेरिए? खेतिपाती र सिंचाई, खानेपानी र सरसफाईका अवस्था जहाँको तहीं छन् या फेरिएर? ज्यालाजीवीहरुको पारिश्रमिक जहाँको तहीं रहे वा बृद्धि गरिए? सामाजिक संरक्षणका कामहरु उकाले लागे या ओह्रालो लागे? चालिस महिनाको अवधिमा १३/१४ महिनापछि सत्ताधारी दलभित्र शुरु गरिएको कचिंगल र कचिंगल बीच 'देशभित्र र बाहिर'बाट सिर्जित अवरोध, निजी स्वास्थ्यसँग पनि जुझ्दै-कोभिड महामारीसँग पनि लड्दै एउटा प्रधानमन्त्रीले यस अवधिमा गर्न सक्ने काम कति हुन सक्थ्यो होला ?
विनापूर्वाग्रह एकचोटी स्मरण गर्नुहोस्, अनि 'ताली वा गाली' के गर्नुपर्ने हो गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु।
शासन सत्तामा संलग्नहरु अडानमा रहँदा उनीहरुलाई कमजोर पार्न परिवारका सदस्यहरुमाथि निशाना साध्ने कथा यदाकदा सुने कै हो। तिनका परिवारजनहरु एउटा नीति कथामा, बाघले 'पाठाको शिकार' गर्न 'तैंले नभए तेरो बाबुले पानी धमिल्याएको होला' भनेझैं आफूसँग कुनै पनि साइनो–सम्बन्ध नभएको अफवाहका शिकार बनाईंदा रहेछन्। योजनाबद्ध ढंगले सोसल मिडिया तथा अनलाइनहरुमार्फत चलाइएका यस्तै अफवाहहरुबाट म आफू आक्रान्त हुन परे पनि, ममाथि लक्षित आक्रमणमा संलग्नहरुले मात्र हैन कसैले पनि त्यस प्रकारको अमानवीय अवस्थाको सामना गर्न नपरोस्, कामना गर्दछु।