बाटो काट्न निषेधाज्ञा कुर्‍यो एउटा बाघले!

गत पुस १८ गते बिहान हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको कारले बाघलाई ठक्कर दियो। पूर्व-पश्चिम राजमार्गको हेटौंडा-पथलैया खण्डअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-१ को आधारभार जंगलमा कारको ठक्कर खाएको पोथी पाटेबाघको घटनास्थलमै मृत्यु भयो।

यो राजमार्गको दायाँ-बायाँ दुबैतर्फ पर्सा राष्ट्रिय निकुञ्जको जंगल छ। यो जंगल बाघको बासस्थान मानिन्छ। आफ्नै क्षेत्रमा एकतर्फबाट सडक ‘क्रस’ गर्दै अर्को तर्फको जंगल जान लागेको बाघलाई कारले ठक्कर दिएको थियो। त्यसो त नेपालमा सडकमा दुर्घटनामा परेर वन्यजन्तुको मृत्यु भइरहेकै छ।

आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्ज र आरक्ष क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तु मरेकोमा १ सय १९ वटा गाडीको ठक्करबाट मरेको तथ्यांक छ। यो कूल मृत्युको २४ प्रतिशत हो। त्यसअघिका दुई वर्षमा कूल मृत्युको ४१ र ३१ प्रतिशत वन्यजन्तु सवारी साधनको ठक्करबाट मरेका थिए।

पूर्व-पश्चिम राजमार्ग र हुलाकी राजमार्गको ठूलो हिस्सा वन क्षेत्रमा पर्छ। यी राजमार्गमा वन्यजन्तुको आवतजावतका लागि आवश्यक संरचना नबनाइँदा दुर्घटनामा परेर धेरै वन्यजन्तुको मृत्यु हुँदै आएको छ। सडकमा बढ्दो चहलपहलले वन्यजन्तु माथिको जोखिम पनि बढेको छ। 

प्रकाशित मिति: : 2021-07-15 12:02:00

प्रतिकृया दिनुहोस्