स्थायी कमिटी बैठकमा पुगेका नेपाल समूहका नेताहरुले आफ्ना कुरा राखे, उपस्थितिमा सही नगरी बाहिरिए

एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विवाद समाधान कार्यदलका पदाधिकारीहरु उपस्थित पुस्तिकामा हस्ताक्षर नगरी बाहिरिएका छन् ।

तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान, च्यसलमा बसेकाे बैठकमा पुगेका नेपाल पक्षका कार्यदल संयोजक एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग समय लिएर बोल्दै बैठक स्थगित गर्न माग गरेका  थिए ।

स्थायी कमिटीका एक जना सदस्यले दिएकाे जानकारीअनुसार, बैठकमा रघुजी पन्त चाहिँ 'बिरामी परेको' जानकारी गराएर अनुपस्थित भएका थिए । बैठक सुरु हुनैलाग्दा नेपाल समूहका कार्यदल संयाेजक एवम् उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय भीम आचार्य र गोकर्ण बिष्ट तथा सदस्य सुरेन्द्र पाण्डे बैठक कक्षमा प्रवेश गरे ।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आसन ग्रहणका लागि आग्रह गरे । अनि उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न भने । उपाध्यक्ष रावलले पहिला आफ्ना कुरा भन्छौँ अनि मात्र उपस्थिति जनाउने बताए । यसैमा करिब १० मिनेट बित्यो । 

त्यसपछि अध्यक्ष ओलीले बोल्न समय दिए । अनि रावलले बाेल्दै भने, 'बैठक बस्नुअघि वरिष्ठ नेता नेपाल र अध्यक्ष ओलीबीच भेटघाट र छलफल हुनुपर्छ । त्यो नभएसम्म हामी उपस्थितमा हस्ताक्षर गर्दैनाैँ ।' रावलले बोल्ने क्रममा दुई नेताबीच सहमति नभई स्थायी कमिटी बैठक बस्नुको औचित्य नहुने भन्दै बैठक स्थगित गर्न माग गरे । अनि पाँचै जना बैठकबाट निस्किएर हिँडेका थिए।

नेपाल समूह बाहिरिए पनि अध्यक्ष ओलीले  एमाले स्थायी कमिटी बैठक अघि बढाए । अनि बैठकले विवाद समाधान कार्यदलको पार्टी एकताका निम्ति तयार पारेको १० बुँदे प्रस्ताव अनुमाेदन गरेको छ ।

कार्यदलका एक जना संयोजक संसदीय दलका उपनेता सुवास नेम्वाङले बिएल नेपाली सेवालाई जानकारी दिए, 'बैठकले मेहनतसाथ सहमतिको प्रस्ताव तयार पारी सफलता पूर्वक जिम्मेवारी पूरा गरेकाेमा कार्यदललाई धन्यवाद दिएको छ। यसलाई कार्यान्वयन गरेर अघि बढ्ने निर्णय गरेकाे छ।'

बैठकले सर्वोच्च अदालतको परमादेशका आधारमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको वर्तमान सरकारलाई विश्वासकाे मत नदिने प्रस्ताव संसदीय दलको बैठकमा लैजाने निर्णय पनि गरेकाे छ ।

नेपाल समूहले मागेकाे थियो स्थायी कमिटी बैठक

एमालेकाे स्थायी कमिटी बैठकमा आफ्ना कुराहरु राखेर हिँडेका माधव नेपाल समूहकै नेताहरुले उक्त बैठक माग गरेका थिए ।

संसद् अधिवेशन बस्नुअघि र अधिवेशन समापनपछि संसदीय दलकाे बैठक बस्नुपर्ने एमालेको संसदीय दलकाे विधानमै उल्लेख छ । त्यसै अनुसार, एमाले संसदीय दलकाे बैठक शुक्रबार ३ बजे नयाँबानेश्वरमा डाकिएकाे छ । उक्त बैठकअघि नेपाल पक्षका कार्यदल सदस्यहरुले नै ओलीले स्थायी कमिटी बैठक राखेर कार्यदलकाे प्रस्ताव अनुमाेदन गर्न माग गरेपछि शुक्रवार ११ बजे स्थायी कमिटी बैठक डाकिएको थियो ।

नेपाल पक्षको मागबमोजिम महासचिव ईश्वर पाेखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपमहासचिव विष्णु पौडेल बिहीबार अपरान्ह अध्यक्ष ओलीकाे निवास, बालकोट गएर स्थायी कमिटी बैठक राख्न ओलीलाई सहमत गराएका थिए । सुरुमा सधैँ शर्तमाथि शर्त राख्ने र पार्टीमाथि घात गर्ने भन्दै उनीहरुसँग ओली रिसाएका थिए।

१० बुँदे प्रस्ताव नै अनुमोदन हुन बाँकी रहेकाेले बैठक बस्न तीनै जना नेताले आग्रहपछि ओलीले शुक्रबार बिहान ११ बजे स्थायी कमिटी बैठक राखेका थिए। त्यसपछि महासचिव ईश्वर पाेखरेलले वरिष्ठ नेता नेपालसहित स्थायी कमिटीका सबैलाई खबर गरेका थिए। संसदीय दलको बैठक शुक्रबारै ३ बजे नयाँबानेश्वरमा बस्ने छ ।

प्रकाशित मिति: : 2021-07-16 14:09:00

प्रतिकृया दिनुहोस्