चीनबाट म्यान्मारले ल्यायाे तीन हजार टन अक्सिजन

Photo : AP
Photo : AP

म्यान्मारलाई तीन हजार टन तरल अवस्थाको अक्सिजन चीनबाट प्राप्त भएको छ।

देशको दोस्रो ठूलो सहर मण्डलायमा यति ठूलो मात्रामा अक्सिजन प्राप्त भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।

म्यान्मारमा रहेको चिनियाँ दूतावासले पनि चीनबाट म्यान्मारमा तीन हजार टन अक्सिजन ल्याइएको जानकारी दिएको छ।

म्यान्मार सार्वजनिक कल्याण सङ्गठनले चीन म्यान्मार नाका हुँदै अक्सिजन ल्याएको हो। यसले कोरोनाभाइरसको महामारी विरुद्ध लड्नका लागि ठूलो सहयोग हुने अपेक्षा गरिएको छ।

“हालै मात्र म्यान्मारले कोरोनाभाइरसको महामारी नराम्रोसँग भोग्नुपरेको छ, त्यही कारणले तरल अवस्थामा रहेको अक्सिजन माग गरिएको थियो, त्यससँगै अन्य अत्यावश्यक सामग्रीहरु सहयोग गर्न आग्रह गरिएको थियो,” म्यान्मारस्थीत चिनियाँ दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

म्यान्मारमा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाख १८ हजार ७३९ जना सङ्क्रमित भएको र ती मध्ये चार हजार ५३६ जनाको मृत्यु भएको स्वास्थ्य तथा खेलकुद मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-18 07:27:00

प्रतिकृया दिनुहोस्