प्रेम आले र किसान श्रेष्ठलाई प्रश्न- तपाईंहरूले किन ओलीको साथ छोड्नुभयो?

सेतोपाटी

काठमाडौँ

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदका चर्चित मन्त्री हुन्- प्रेमबहादुर आले। 

२०७४ को आम निर्वाचनमा डोटी-१ बाट निर्वाचित भएका आलेलाई ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि गत पुसमा वन तथा वातावरण मन्त्री बनाएका थिए।

वन मन्त्री हुँदा आलेले कुनै उल्लेखनीय कामचाहिँ गरेनन् तर उल्टोपाल्टो भाषणले उनी निकै चर्चामा आए। उनका मिम र भिडिओ सामाजिक सञ्जालमा भाइरल बने।

पछिल्लो समय उनले केही अक्सिजन सिलिन्डरमा आफ्नो तस्बिरसहितको पोस्टर टाँसेर डोटी र धनगढीका अस्पतालमा बाँडेका थिए। 

यी चर्चित मन्त्रीलाई ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि हटाइदिए।

ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेपछि उनका सारथी बन्न गएका सांसद आले आइतबार भने ओलीसँग थिएनन्। आइतबार पुनर्स्थापित प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची थियो।

प्रतिनिधि सभा बैठक बस्नुअघि बसेको एमालेको स्थायी कमिटी  बैठक (माधव नेपाल पक्ष अनुपस्थित)ले प्रधानमन्त्री देउवाका विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। ओलीको अध्यक्षतामा बसेको बैठकपछि संवाददातासँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले देउवाका पक्षमा मत दिनेहरू एमालेमा नरहने बताएका थिए।

आलेले उक्त बैठकको निर्णय उल्लंघन गरिदिए। आइतबार राति भएको मतदानमा उनले वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदसँगै 'फ्लोर क्रस' गरे र देउवाका पक्षमा विश्वासको मत दिए। उनीसँगै ओली पक्षका अरू ८ सांसदले पनि देउवालाई विश्वासको मत दिए।

प्रकाशित मिति: : 2021-07-19 08:58:00

प्रतिकृया दिनुहोस्