फ्रान्सेली कम्पनी ट्याक्टवेलले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर सरकारलाई बुझाएको पनि सात वर्ष भयो।
आयोजनाले कहिल्यै गति लिन सकेन। घरखेत छाडन तयार भएका आयोजना प्रभावितलाई पनि परियोजना अगाडि बढ्न नसक्दा चिन्ताले सताएको छ। फ्रान्सेली कम्पनीले सन् २०१४ मा नै डिपिआर तयार पारेको हो।
सरकारले परियोजनाको ढाँचा टुङ्गो लगाउन नसक्दा कुनै मूर्त आकार ग्रहण गर्न सकेको छैन। हरेक जसो सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा आयोजनाको नाम समावेश गरे पनि काम हुन नसकेपछि सबैभन्दा बढी पीर स्थानीयवासीलाई परेको छ।
सोही समस्याको समाधान गर्ने ध्येयका साथ आयोजना प्रभावितले सरकारका वरिष्ठ मन्त्रीसँग भेटवार्ता गरी समस्या समाधान गरिदिन र शीघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन्। प्रसंग हो, बुढीगण्डकी जलविद्युत् आयोजनाको। राष्ट्रिय गौरवको आयोजनामा अघिल्ला वर्षहरु जस्तै यस वर्ष पनि कुनै परिवर्तन भएको छैन। कूल एक हजार २०० मेगावाट क्षमताको आयोजना प्रभावितले पटक पटक समस्या समाधानका लागि अनुरोध गरेपनि सुुनुवाइ हुन सकेको छैन।
आइतबार उनीहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी तत्काल आयोजना कार्यान्वयनमा ल्याउन आग्रह गरेका थिए। सोही क्रममा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालसँग भेट गरी स्थानीयवासीको समस्या समाधान गरी निर्माणको काम शुरु गर्न अनुरोध गरे।
स्थानीयवासीको एक प्रतिनिधिमण्डलले घरगोठको मुआब्जा निर्धारण गर्न, पुनर्वासको उचित कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ। सरकारले हरेक वर्ष बजेटमार्फत विनियोजन गरेको मुआब्जा वितरण हुन सकेको छैन। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आफूहरुलाई विश्वासमा लिएर आयोजना तत्काल अघि बढाउन आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग गरेको जस्तै आग्रह आज ऊर्जामन्त्री समक्ष गरे।
उनीहरुको स्पष्ट भनाइ थियो, “आयोजना कहिले बन्छ भन्ने टुङ्गो लाग्नुप¥यो र स्थानीयवासीको माग तत्काल सम्बोधन गर्नुपर्यो।” बुढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनाल लामो समय बित्दा आयोजनाले गति लिन नसकेकामा चिन्ता व्यक्त गर्नुहुन्छ। “हामीले सधैँ आयोजनाको पक्षमा माहोल सिर्जना गर्यौ, तर काम हुन सकेको छैन। स्थानीयले घरगोठको मुआब्जा निर्धारण, पुनर्वासलगायत विषयमा चाडो सल्टाउन आग्रह गरेका छौँ।” नयाँ सरकारले स्थानीयको माग सम्बोधन गरेर तत्काल आयोजना अगाडि बढाउन आग्रह गरिएको खनालको भनाइ छ।
प्रतिनिधिमण्डलमा सहभागी गोरखा, निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद हरिराज अधिकारी तल्लो वर्गका जनतामा देखिएको समस्या समाधानका लागि आफूहरुले आग्रह गरेको बताउछन्। उनले घरको ह्रासकट्टी कटाउँदा तल्लो वर्गका जनतामा समस्या परेको बताउँँदै सो व्यवस्था हटाउन पहल गर्न आग्रह गरे।