भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ। गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो। न्यायिक समितिबाट छ वटा निवेदन अदालत गएका थिए।
महानगरपालिका न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायिक समितिले फैसला गरेका १६ मुद्दामध्ये छ वटा चित्त नबुझेर अदालत गएका थिए।
उनले भनिन्, “अदालत गएका मुद्दामा पनि हाम्रो निर्णय सदर भएको छ।” महानगरको इजलासमा गत आवमा ३६ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो आवबाट जिम्मेवारी सरी आएका आठ वटा मुद्दा रहेका थिए।
गत आवका लागि ४४ मुद्दामध्ये यस आवलाई जिम्मेवारी सरेका २८ वटा रहेका छन्। जिम्मेवारी सरी आएका मुद्दामध्ये चार वटा मुद्दा यही सातामा फैसला हुने तयारीमा रहेको उनले जानकारी दिइन्। न्यायका क्षेत्रमा महानगरको न्यायिक इजलास सक्षम रहेको भन्दै उनले कोरोना कहरका कारण भएको निषेधाज्ञाले यस वर्षमा अपेक्षाकृत मुद्दा फैसला गर्न नसकिएको बताइन्।
उनले भनिन्, “जनतालाई न्याय दिलाउने विषयमा कुनै द्विविधाबिना काम गरेका छौँ। जसका कारण अदालतले समेत न्यायिक समितिको निर्णयलाई हुवहु सदर गरेको छ।” महानगरको आन्तरिक मूल्याङ्कनमा पनि न्यायिक समिति सबै समितिभन्दा अग्रस्थानमा रहेको उनको भनाइ छ।