नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अर्थतन्त्र विस्तारबारे सुझाव प्रस्तुत गरेको छ।
उक्त अवसरमा अध्यक्ष मल्लले गणतन्त्र नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपाल चेम्वर अफ कमर्सका तर्फबाट बधाई व्यक्त गर्दै सफल कार्यकालको कामना गरे।
चेम्वर अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न विभिन्न सुझावहरु प्रस्तुत गंर्दै विश्वव्यापी कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नुपरेको बताए।
उनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भई अर्थतन्त्रमा योगदान पुग्ने बताए।
मल्लले भने, ‘निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराई दिन आग्रह गर्दछु।’
चेम्वर अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याज दरमा उपलब्ध गराइनुपर्ने, संसदमा विचाराधीन आर्थिक विधेयकहरु पारित गरिनुपर्ने, आर्थिक गतिविधि विस्तार एवम् अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनुपर्ने पनि प्रधानमन्त्रीसमक्ष बताए।
बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनुपर्ने बताउँदै उनले कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनुपर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनुपर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनुपर्ने माग राखे।
मल्लले लगानीको स्रोतको वैधतामा सरलीकरण हुनुपर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन आग्रह गरे।
उक्त अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाई पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्नसदैव तयार रहेको बताए। ‘अहिले अर्थतन्त्रमा चुनौतीहरु आएका छन यसलाइ सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गरिन सकिन्छ’, प्रधानमन्त्री देउवाले भने।
कोभिड खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको मागबारे सरकार संवेदनशील रहेको बताउँदै निकट भविष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने बताए। त्यसपछि च्याम्बरको माग माग सम्बोधन हुने पनि बताए। प्रधानमन्त्रीले प्राप्त सुझावका लागि धन्यवाद पनि दिए।
सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर, मानार्थ उपाध्यक्ष श्री लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापतिसन्तोष पाण्डे पनि उपस्थित थिए।