कमला नदीको बाढीले किरतपुरमा बाँध भत्कियो, आधा दर्जन पालिका डुबानमा पर्ने जोखिम

विजय साह

जनकपुर

कमला नदीमा आएको बाढीले धनुषातर्फको बाँध भत्किएको छ। बाँध भत्किएपछि पूर्वी क्षेत्रका गाउँहरु डुबानमा पर्ने जोखिम पनि बढेको छ।

सोमबार राति कमला नदीमा आएको बाढीले धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ स्थित किरतपुरमा पश्चिमतर्फको बाँध भत्किएपछि पूर्वी क्षेत्रका आधा दर्जन पालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको हो।

सोमबार राति कमला नदीमा आएको बाढीले सो ठाउँमा ६ सय मीटर बाँध कटान गरेको थियो। तल्लो सतह २२ मीटर र माथिल्लो सतह ६ मिटर चौडाई भएको बाँध कटान भएर कतै २ त, कतै १ मिटर भाग मात्र बाँकी बचेको थियो। बचेको बाँकी भाग पनि बुधबार बिहान बाढीले भत्काएको स्थानीयबासी सैफ राइनले बताए।

बाँध भत्किएपछि सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका ग्रामीण बस्ती डुबानमा पर्ने खतरा बढेको छ।

‘बाँध भत्किए पनि अहिले नदीको सतहमा पानी घटेकाले बस्तीमा बाढी प्रवेश गरेको छैन। तर पानी प-यो वा नदीमा बाढीको सतह बढ्यो भने जोखिम बढ्ने निश्चित छ’, राइनले भने।

सोमबार राति कमला नदीमा आएको बाढीले बाँध कटान गर्न थालेपछि त्यसलाई रोकथाम गर्न मंगलबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासी जोड तोडले जुटेका थिए। उनीहरुले बालुवा भरिएको बोरा, रुख र बाँधको प्रयोग गरेर अस्थायी रुपमा जोगाउने प्रयास पनि बाँध भत्किन पुगेको हो।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईलगायत सुरक्षा प्रमुखसहित टोलीले कटान क्षेत्रको निरीक्षण गरेका थिए।

निरीक्षण पछि भट्टराईले अर्थ मन्त्रालयले विपद् नियन्त्रण गर्ने आपत्कालीन बजेट कटौती गरेका कारण बाँध बचाउन समस्या भएको र आफूसँग कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट समस्या भएको जवाफ दिएपछि पूर्वमन्त्री यादवले अर्थमन्त्री जनार्दन शर्मा तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग कुराकानी गरेका थिए।

अर्थमन्त्री शर्माले बाँध बचाउन तत्कालै ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको पूर्वमन्त्री यादवले जानकारी दिए। बाँध बचाउन तत्कालै काम सुरु गर्न अर्थमन्त्री शर्माले आग्रह गरेको र आवश्यकता परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको पूर्व मन्त्री यादवले बताए।

यता बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुनसक्ने सम्भावित क्षेत्र तर्फ प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।

प्रकाशित मिति: : 2021-07-21 13:29:00

प्रतिकृया दिनुहोस्